अनुभूति
त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बेला हामी सवार विमानमा ठूलै कम्पन भयो। अत्यासले छोप्यो–हाम्रो हालत पनि यूएस-बाङ्ला विमानका यात्रुको जस्तै हुने भयो!
फागुन २०७४ को कुरा हो, कामविशेषले चितवन जानुपर्ने भयो। कलंकीमा बिहान ११ बजे हायस चढेँ। मुग्लिन-नारायणगढ सडकखण्डमा मर्मतको काम धमाधम भइरहेको रहेछ। बाटोमा लामो जाम भोग्दै यात्रा गर्नुपर्यो। सयौँ यात्रुवाहक बस, हायस, मालवाहक गाडीको लस्कर थियो। जामले दिएको सास्ती त छँदै थियो, बाटोमा एउटा सेल र चिया खाएको १५० रुपैयाँ तिर्नुपर्यो।
जसोतसो राति ८ बजे चितवन पुगेँ। सोमबार काम सकियो। तर, त्यही बाटो काठमाडौँ फर्किने आँट गर्न सकिएन। काठमाडौँमा रहेको साथी विकासलाई चितवन-काठमाडौँ हवाई टिकटका लागि आग्रह गरेँ। उसले मंगलबार दिउँसो १२:१० बजेको टिकटको व्यवस्था गर्यो। एक दिनको समय बाँकी थियो। यसबीचमा के गरेर समय काट्ने भन्ने लाग्यो।
चितवन पुगेपछि जंगल सफारी हुने नै भयो। बिहान सफारी सकेर खोला किनार रहेको रिसोर्टमा पल्टिएर आराम के गर्दै थिएँ, काठमाडौँबाट श्रीमतीको फोन आयो, ‘यहाँ त यूएस-बाङ्ला एयरलाइन्सको प्लेन दुर्घटना भयो।’
आइतबारै मैले घरमा फोन गरेर बसमा आउन नसकिने र जहाजबाट आउने बताइसकेको थिएँ। यूएस-बाङ्ला विमान दुर्घटनाको समाचार सुनेपछि श्रीमती अत्तालिइन्। उनी पुनः सोधिरहेकी थिइन्, ‘बसमा आउने कि प्लेनमा?’
मानौँ, केही नभएजस्तै मैले जवाफ दिएँ, ‘बसबाट फर्कंदा नौ घण्टा लाग्छ। त्यो पनि पुगिन्छ कि पुगिँदैन, थाहा छैन। बरु २० मिनेटको छोटो यात्रामा प्लेनबाट काठमाडौँ पुगिहालिन्छ नि!’
श्रीमतीको आशय थियो– गाडीबाटै आए हुन्थ्यो। तर, जहाजको टिकट ‘कन्फर्म’ भइसकेको थियो। त्यसैले मंगलबार हतारिएर एयरपोर्ट पुगेँ। हिजै त्यत्रो प्लेन दुर्घटना भएको थियो। म एयरपोर्ट प्रवेश गर्दा सबै यात्रु डरत्रासको अवस्थामा देखेँ। अरू बेला एयरपोर्टमा ठूलो आवाज हुन्थ्यो। तर, त्यो दिन विमान दुर्घटनाको भयले होला, मानिसहरू निकै कम बोलिरहेको देखिन्थ्यो।
मलाई पनि मुटुमा चिसो नपसेको होइन। तर, सँगैको सिटको यात्रुलाई सान्त्वना दिएँ, ‘विमान उड्दा र अवतरण गर्दा यस्तो आवाज आउँछ, विमान हल्लिन्छ। आत्तिनु पर्दैन।’
म त एक्लो यात्रु। चुपचाप सबैको अनुहार पढ्ने कोसिस गरिरहेको थिएँ। त्यो दिन भरतपुर एयरपोर्टबाट यात्रा गरिरहेका प्रायः सबै यात्रुले तीनचार दिनअघि नै टिकट काटेका रहेछन्। भर्खरकै २० वर्षको देखिने एक युवक मोबाइलमा आमासँग कुरा गर्दै भन्दै थिए, ‘आऊँ कि नआऊँ ममी? मलाई त प्लेन चढ्न डर लागिरहेको छ। बरु भोलि बस चढेर आउँदा हुँदैन?’
आमा-छोराबीच के संवाद भयो कुन्नि, उनी सुरक्षा जाँच गरेर जहाज चढ्न भित्र आइपुगे। जहाज निर्धारित समयभन्दा ४५ मिनेट ढिलो थियो। म याद गरिरहेको थिएँ, उनी ६ पल्ट त बाथरुम नै छिरे। घरी पानी पिउन जान्थे, नभए कपाल भिजाउँथे। उसको गतिविधि देखेर म नै तीनपल्ट ‘ट्वाइलेट’ पसेँ। यता घरबाट फोन आएर म पनि हैरान।
भरतपुर विमानस्थलमा त्यस दिन प्रायः सबैको अवस्था उस्तै थियो। विमानस्थलमा यात्रुभन्दा बढी उनीहरूलाई पुर्याउन आउने आफन्त भेटिन्थे। विमानस्थलको कुनै कुर्सी खाली थिएन। एकछिन त म भुइँमै बसेँ।
भाग्यले त्यो दिन काठमाडौँमा १४ वर्षअघि चिनेका एक मित्र राजुसँग भेट भयो। यतिबेला मलाई भगवान् भेटेजस्तो भएको थियो। किनभने, विमानस्थलमा मैले आफूसँग बोल्ने मान्छे नै भेटेको थिइनँ।
त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बेला जहाजमा ठूलै कम्पन भयो। यसपछि आत्तिएका हामी सबैलाई लाग्यो– हाम्रो हालत पनि यूएस-बाङ्ला विमानका यात्रुको जस्तै हुने भयो! सिटमा बसेका केही यात्रु कराउन थाले।
यसअघि विमानस्थलमा थुप्रै अपरिचित व्यक्तिसँग कुराकानी हुन्थ्यो। तर, त्यो दिन कुनै यात्रु बोल्ने मुडमा देखिँदैनथे।
राजु आफ्ना बुवाको उपचारका लागि आएका रहेछन्। उनको र मेरो विमान छुट्टाछुट्टै थियो। विमान उड्नुअघि केही समय गफियौँ पनि। कुराकानी गर्दैगर्दा भित्रबाट म चढ्ने विमान आइसकेको सूचना आयो। राजुसँग काठमाडौँमा भेट्ने वाचासहित विमानतर्फ लागेँ।
भरतपुरबाट जहाज उड्दा केही समस्या भएन। सबैले आफ्नो देउता सम्झिएर सिटबेल्ट बाँधे। तर, त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बेला जहाजमा ठूलै कम्पन भयो। यसपछि आत्तिएका हामी सबैलाई लाग्यो– हाम्रो हालत पनि यूएस-बाङ्ला विमानका यात्रुको जस्तै हुने भयो! सिटमा बसेका केही यात्रु कराउन थाले। कोही मन्त्र-जप गर्न थाले।
मलाई पनि मुटुमा चिसो नपसेको होइन। तर, सँगैको सिटको यात्रुलाई सान्त्वना दिएँ, ‘विमान उड्दा र अवतरण गर्दा यस्तो आवाज आउँछ, विमान हल्लिन्छ। आत्तिनु पर्दैन।’
उनलाई नआत्तिन सुझाव दिए पनि आफू भित्रभित्रै डराएको थिएँ। चितवन-काठमाडौँको विमान यात्रा औसत २५ मिनेटको हो। तर, त्यो दिन जहाज ४५ मिनेट आकाशमा उडिरह्यो। यसपछि मैले नजिकै आएकी विमान परिचारिकालाई सोधेँ, ‘जहाज अवतरण गर्न किन ढिलाइ भइरहेको छ?’
उनले मुसुक्क हाँस्दै भनिन्, ‘सर, त्रिभुवन विमानस्थलमा एयर ट्राफिक छ। त्यसैले विमान डाइभर्ट गर्नुपरेको हो।’
उनी हाँसिरहँदा उनको अनुहारमा पनि यूएस-बाङ्ला विमान दुर्घटनाको त्रास मैले महसुस गरिरहेको थिएँ। छेउको सिटमा ‘फ्रेन्च कट’ दाह्री बनाएका एक अधबैँसे युवक थिए। उनको जिउडाल कुनै हलिउड स्टारभन्दा कम थिएन। तर, डरले उनको कन्चटबाट पसिना उम्रिन थालेको प्रस्ट देखिन्थ्यो।
हातमा घडी बाँधेका उनलाई मैले धेरैपल्ट समय सोधेँ। तर, उनी बोल्दै बोलेनन्। सुरुमा त कति घमन्डी मान्छे रहेछ भन्ने लाग्यो। तर, खासमा डरका कारण उनी कसैसँग कुरा गर्न चाहिरहेका थिएनन्।
एकछिन विमान आकाशमा घुमाउँदा त मेरो मनमा नचाहिँदो कुरा खेल्यो भने यूएस-बाङ्ला विमान दुर्घटना भएको दिन ‘एयर ट्राफिक’ का कारण चार वटा विमान लामो समय आकाशमै ‘होल्ड’ हुँदा ती यात्रुहरूको मनमा के बित्यो होला?
विमानमा उनी मात्र होइन, सबैको अवस्था उस्तै थियो। ११ हजार फिटमाथि उडेको त्यस विमानले निर्धारित समयमा आफ्नो गन्तव्य नभेट्दा डर लाग्नु स्वाभाविक हो। बाहिर जति नै आफूलाई स्वाभाविक देखाउन खोजे पनि भित्रभित्र मलाई पनि डर लागेको थियो।
मैले विमानमा समय कटाउन चितवनमै एउटा पत्रिका खरिद गरेको थिएँ। तर, विमान हल्लिन थालेपछि पत्रिकामा केको ध्यान जानु? राति हेरेको यूएस-बाङ्ला विमान दुर्घटनाको समाचार मनमा खेल्न थाल्यो।
यतिबेला मैले पनि अब मरियो भनेर आफ्ना इष्टमित्र सबैलाई जहाजमा सम्झिएको थिएँ। तर, अन्त्यमा जहाज काठमाडौँ विमानस्थलमा सुरक्षित रूपमा अवतरण भयो। त्यतिबेला मलाई लागेको थियो– एकछिन विमान आकाशमा घुमाउँदा त मेरो मनमा नचाहिँदो कुरा खेल्यो भने यूएस-बाङ्ला विमान दुर्घटना भएको दिन ‘एयर ट्राफिक’ का कारण चार वटा विमान लामो समय आकाशमै ‘होल्ड’ हुँदा ती यात्रुहरूको मनमा के बित्यो होला?
हिजोआज विमानको यात्रा गर्दा त्रिभुवन विमानस्थलमा ‘एयर ट्राफिक’ नभएको मैले अनुभव नै गर्न पाएको छैन। झन् बढेको देख्छु। यूएस-बाङ्ला विमान दुर्घटनाका प्राविधिक कारण धेरै होलान्, तर ‘ट्राफिक जाम’ पनि महत्त्वपूर्ण पाटो हो जस्तो मलाई लाग्छ। यो चापलाई कसरी घटाउन सकिन्छ, लौ न सरकारले केही गरोस्!