काठमाडौँ। निर्वाचन आयोगले प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई उम्मेदवार वा राजनीतिक दलको प्रचारमा सहभागी नहुन निर्देशन दिएको छ।
निर्वाचन प्रचारमा प्राध्यापक, शिक्षक तथा कर्मचारी संलग्न भएको गुनासो आएको भन्दै आयोगले सचेत गराएको हो।
निर्वाचन आचारसंहिताको दफा (१०) मा कार्यक्रम वा सभा, प्रचारमा संलग्न हुन नपाइने उल्लेख छ। सहभागी भएको पाइएमा आचारसंहिताको दफा ४८ बमोजिम कारबाही हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
“शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीले आफ्नो पदको मर्यादा तटस्थता तथा कानुनी दायित्वलाई मनन् गर्दै आचारसंहिताविपरीत हुने कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसार नगर्न नगराउन सचेत गराइन्छ‚” प्रवक्ता भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ “आचारसंहिताको व्यवस्था प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गतिविधिमा सामेल भएको पाइएमा ऐ. आचारसंहिताको दफा ४८ बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराइन्छ।”
