काठमाडौँ। गृह मन्त्रालयले धादिङको बेनीघाट रोराङ गाउँपालिका ५, भैँसीगौँडामा भएको यात्रुवाहक बस दुर्घटनाको छानबिन गर्ने भएको छ।
पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग.२ख १४२१ नम्बरको बस आइतबार राति करिब १ बजेतिर दुर्घटना भएको थियो। बस सडकबाट करिब २०० मिटर तल त्रिशूली नदीमा खस्दा १९ जनाको मृत्यु र २५ जना घाइते भएपछि गृह मन्त्रालयमा बसेको बैठकले छानबिन समिति बनाएको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सुरक्षा निकाय, यातायात विभाग, सडक विभाग, यातायात व्यवसायी र मजदुर संघका प्रतिनिधिबीचको बैठकले दुर्घटनाको छानबिनका लागि गृहकै सह-सचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाएको गृह-प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए।
सहसचिव काफ्लेका अनुसार दुर्घटनाको पूर्ण विवरण र छानबिनका लागि कार्यदल बनाइएको हो। घटनाबारे जानकारी पाएसँगै सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको समन्वयमा घटनास्थलबाट उद्धार गरिएको थियो।
