काठमाडौँ
००:००:००
११ फाल्गुन २०८२, सोमबार

११ फाल्गुन २०८२
अ+
अ-

नयाँदिल्ली। नेपाल-भारतबीच बहुआयामिक आर्थिक, प्राविधिक र सांस्कृतिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले आयोजित तीनदिने इन्डो-नेपाल ट्रेड फेस्टिभल २०२६ सकिएको छ।

भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न महोत्सवले लगानी प्रवर्द्धन, ऊर्जा साझेदारी, डिजिटल अर्थतन्त्र, पर्यटन, शिक्षा, स्वास्थ्य, युवा सशक्तीकरण र नवप्रवर्तनका क्षेत्रमा सुदृढ सहकार्य अपरिहार्य रहेको साझा निष्कर्ष निकालेको छ। महोत्सव एभरेस्ट चेम्बर अफ कमर्स (ईसीसीआई) ले आयोजना गरेको हो।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड तथा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सहकार्य गरेका थिए। हौज खासस्थित पीएचडी भवनमा भएको महोत्सवमा ५० भन्दा बढी स्टल थिए। जहाँ २० हजारभन्दा बढी दर्शकको सहभागिता रहेको आयोजको दाबी छ।

महोत्सवमा ऊर्जा उत्पादन, व्यापार उदारीकरण, प्रसारण लाइन सुदृढीकरण र स्थिर नीतिगत वातावरणलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालिएको थियो। वक्ताहरूले नेपालसँग उपलब्ध स्वच्छ जलविद्युत् र चिसो हावापानी डेटा सेन्टरका लागि उपयुक्त भएको उल्लेख गर्दै ‘हिमालयन कम्प्युट करिडोर’ अवधारणा अघि सारे। भारतको एआई-केन्द्रित विकास रणनीतिका लागि दीर्घकालीन ऊर्जा आपूर्ति सुनिश्चित गर्न नेपाल रणनीतिक साझेदार बन्न सक्ने धारणा व्यक्त गरियो।

यस्तै रामायण सर्किट, बुद्ध सर्किट, साहसिक पर्यटन, वेलनेस र डेस्टिनेसन वेडिङलाई एकीकृत रणनीतिमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याइएको थियो। साथै सीमाक्षेत्र व्यवस्थापन सुधार, स्पष्ट ब्रान्डिङ, आक्रामक मार्केटिङ र नीतिगत स्पष्टताविना अपेक्षित उपलब्धि सम्भव नहुने विश्लेषण प्रस्तुत गरियो।

तीन दिनसम्म चलेको महोत्सवमा १० भन्दा बढी उच्चस्तरीय सत्र र नीति-संवादले स्पष्ट रूपमा देखाएको छ कि नेपाल-भारत सम्बन्ध अब परम्परागत व्यापारिक ढाँचाभन्दा अघि बढेर ऊर्जा, डिजिटल अर्थतन्त्र, नवप्रवर्तन, पर्यटन, शिक्षा र सांस्कृतिक कूटनीतिको एकीकृत संरचनातर्फ उन्मुख हुँदै छ।