काठमाडौँ
००:००:००
११ फाल्गुन २०८२, सोमबार

११ फाल्गुन २०८२
अ+
अ-

जुम्ला। जुम्लाको तिला गाउँपालिका–४ स्थित त्रिवेणी क्षेत्र धार्मिक पर्यटनको गन्तव्य बनेको छ । त्रिवेणीधाम धार्मिकयात्रामा निस्किनेको रोजाइमा पर्ने गरेको वडाध्यक्ष भद्रवीर सार्कीले जानकारी दिए ।

तिला नदी र भेरीखोला नदीको सङ्गमस्थलमा रहेको त्रिवेणीधाम विशेषरी आन्तरिक पर्यटनको रोजाइमा पर्ने गरेको छ । दुई नदीको सङ्गमस्थल भएकाले त्रिवेणी धामका रुपमा नामकरण गरिएको हो । वडाध्यक्ष सार्कीले भने,“त्रिवेणीधाम तिला गाउँपालिकाकै प्रसिद्ध धार्मिक क्षेत्र नभएर जिल्लाकै परिचित रहेको छ ।” त्रिवेणीधामलाई आन्तरिक तथा बाह्रपर्यटनसँग जोड्नका लागि गाउँपालिकाले गुरुयोजना बनाएको वडाध्यक्ष सार्कीको भनाइ छ ।

त्रिवेणीधामलाई थप आकर्षण बनाउनका लागि पर्यटन बोर्डबाट आर्थिक सहयोगले धर्मशालासमेत निर्माण भएका छन् । त्रिवेणी क्षेत्रमा जिल्लाका अरु स्थानीय तहबाट पर्यटक आउने गरेको तिला गाउँपालिका–४ का स्थानीयवासी गोरखाबहादुर शाहीले बताए ।

ऐतिहासिक धार्मिकस्थलका रुपमा त्रिवेणी रहेकाले धार्मिक पर्यटकको सङ्ख्यालाई बढाउनका लागि गुरुयोजना बनाएर अघि बढेको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए । त्रिवेणीधाम ऐतिहासिक धार्मिकस्थल हो, धार्मिकयात्रामा निस्कने धेरैको गन्तव्य त्रिवेणीधाम पर्ने गर्दछ । त्रिवेणीधाममा साउनमा धार्मिकयात्रामा आउनेको सङ्ख्या उल्लेख्य हुने गर्दछ ।

शिवरात्रिमा यहाँ धार्मिक मेला लाग्ने गर्दछ । त्रिवेणीधाम क्षेत्रलाई थप विकास गरी धार्मिक पर्यटकको गन्तव्यका रुपमा देशकै प्रमुख गन्तव्य बनाउन सकिने सम्भावना रहेको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ ।