काठमाडौँ
००:००:००
१२ फाल्गुन २०८२, मंगलवार

१२ फाल्गुन २०८२
अ+
अ-

रुपन्देही। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले हालसम्म पनि करको दायरामा नआएका व्यावसायिक प्रतिष्ठानलाई करको दायरामा ल्याउन घरदैलो अभियान सञ्चालन गर्ने भएको छ।

प्रत्येक वडाका टोलटोलमा रहेका व्यावसायिक प्रतिष्ठान (पसलहरू)मा पुगेर राजस्वका बारेमा बुझाएर सबैलाई करको दायरामा ल्याउन अभियान सञ्चालन गर्न लागिएको नगर उपप्रमुख उमा अधिकारीले बताए।

सोमबार भैरहवास्थित नगर कार्यपालिकाको कार्यालयमा बसेको राजस्व परामर्श समिति, सिद्धार्थनगरको बैठकले राजस्व (कर) सम्बन्धी अभियान सञ्चालन गर्ने निर्णय गरेको उपप्रमुख अधिकारीले बताए । उनले भने,“कर दर नभई दायरा बढाउने हो, यसका लागि घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ ।”

राजस्व परामर्श समितिको संयोजकसमेत रहेकी अधिकारीले कर भन्नबित्तिकै धेरै हो कि भन्ने पनि बुझाइ पनि रहेको पाइएको बताइन् । त्यसैले पनि करको बारेमा बुझाएर सबैलाई करको दायरामा ल्याउनु अभियानको उद्देश्य रहेको उनले जानकारी दिइन् । निर्वाचनपछि यो अभियान सञ्चालन गरिने नगरपालिकाको प्रशासकीय अधिकृत कमलकान्त खनालले जानकारी दिए ।

त्यस्तै बैठकले सिद्धार्थनगर नगरपालिका–५ मा अवस्थित कृषि बजार भवन अन्तर्गत (ए ब्लक) सञ्चालन गर्न सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ ।

“भवन सञ्चालन हुन नसकेकोबारे बारम्बार कुरा उठिरहन्छ । यसको सञ्चालनका लागि विगतमा समिति गठन गरेका थियौं । समितिले एउटा रिपोर्ट पेस गरिसकेको हुनाले ए ब्लक सञ्चालनका लागि सूचना सम्प्रेषण गर्ने निर्णय गरिएको छ”, उनले भने । सिद्धार्थनगर नगरपालिकामा १३ वडा छन् ।