काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले गैरसरकारी संघ-संस्थाहरूले नेपालको राष्ट्रिय प्राथमिकता र जनताको आवश्यकताअनुसार स्रोत-साधन परिचालन गर्नुपर्ने बताएकी छन्।
समाज कल्याण परिषद्को डिजिटल सेवा शुभारम्भ गर्दै उनले यस्तो बताएकी हुन्। उनले राज्यको नीतिअनुसार सामाजिक तथा नागरिक संस्थाहरू सक्रिय हुनु लोकतन्त्रको सबल पक्ष भएको बताइन्।
नेपालमा सामाजिक संघ-संस्थाहरूले विपद्मा खेलेको भूमिका प्रशंसनीय रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ।
“राज्यको नीति अंगीकार गरी सामाजिक तथा नागरिक संस्थाहरू सक्रिय हुनु लोकतन्त्रको सबल पक्ष हो। सरकारी संघ-संस्थाहरूले स्वास्थ्य, शिक्षा, सशक्तीकरण, समावेशीकरण, गरिबी निवारण, सामुदायिक विकास र वातावरण संरक्षणजस्ता विविध क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्‚” उनले भनिन‚ “विशेषगरी विपदको समयमा राहत, उद्धार र पुन:स्थापनमा खेलेको भूमिका प्रशंसनीय छ।”