मकवानपुर। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि मकवानपुरको निर्वाचन क्षेत्र १ र २ का मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम दिन थालिएको छ।
मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन प्रक्रिया सञ्चालन गर्ने सम्बन्धि प्रशिक्षण दिन थालिएको हो। तालिममा जिल्लाका ३७४ मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन प्रक्रिया सञ्चालन गर्नेलगायत विषयमा तालिम दिइरहेको निर्वाचन अधिकृत कार्यालयका प्रमुख निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन्।
उनका अनुसार ती सबै मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक स्तरका कर्मचारीलाई आजदेखि नै नियुक्तीपत्र हस्तान्तरढा गरिने छ। अति दुर्गम भेगका मतदान केन्द्रमा फागुन १७ गते नै मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीलाई निर्वाचन सामाग्री, मतपत्र, मतपेटीका साथै सुरक्षा टोलीसहित पठाइने प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिइन्।
जिल्लाभर ३७४ मतदान केन्द्रमा दुई हजार २४४ कर्मचारी खटाइएको छ। दुवै क्षेत्रमा गरी विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। जिल्लामा तीन लाख १५ हजार ३३५ मतदाता रहेका बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।