महोत्तरी। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन-जीको मागअनुसार कांग्रेस परिवर्तित भएर जनतामाझ आएको बताएका छन्।
कांग्रेस महोत्तरीले जिल्लाको निर्वाचन क्षेत्र ३ ले जलेश्वरमा आज (बुधबार) आयोजना गरेको चुनावी कोणसभामा उनले परिवर्तनका लागि जेन-जीले गरेको आन्दोलनको भावनाअनुसार सबैभन्दा पहिले आफ्नो पार्टीमा परिवर्तन आएको दाबी गरे।
उपसभापति शर्माले जेन-जीकै मागअनुसारै लामो समय पार्टीभित्र पुस्तान्तरणको आवाज उठाउँदै आएका गगनकुमार थापालाई पार्टी सभापति बनाएर चुनावमा आएकाले अब जनताले त्यसको मूल्यांकन गर्नुपर्ने धारणा राखे।
“गत भदौमा भएका जेन-जी आन्दोलनमा नवयुवाहरूले सुशासनको कुरा गरे, त्यसका लागि राजनीतिक दलहरू रूपान्तरण आउनुपर्छ भन्ने सन्देश दिए । त्यहीअनुसार हामीले पार्टीमा सुधार सुरु गरेका छौँ। युवालाई देशको बागडोर सुम्पिँदै आउने निर्वाचनपश्चात् पार्टी सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएका छौँ । देशभर नयाँ उम्मेदवार अगाडि सारेर आएका छौँ‚” उनले भने।
उपसभापति शर्माले देशले मागेको विकास, चाहेको परिवर्तन र खोजेको सरकार केवल आफ्नो पार्टीले दिनसक्ने भन्दै यसपालिको निर्वाचनमा जनताले पनि आफूहरूको अभियानलाई अनुमोदन गर्ने विश्वास व्यक्त गरे।