कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम)मा पहिलोपटक नियमित विद्युत् सेवा पुगेको छ।
यस अगाडि भक्तजन अँध्यारोमा पूजाआराधना गर्न बाध्य थिए। नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले करिब रु ६५ लाख लागतमा मुडकादेखि धारापानीसम्म करिब पाँच किलोमिटर क्षेत्रमा ८२ पोल जडान गरी ‘ट्रान्सफर्मर’ स्थापना गरेर विद्युत् आपूर्ति सुरु गरेको छ। पोल गाड्ने, तार तान्ने, इन्सुलेटर जडान गर्ने र ट्रान्सफर्मर राख्ने सम्पूर्ण काम ठेक्का प्रक्रियामार्फत सम्पन्न गरिएको हो।
विद्युत् सेवा विस्तारसँगै मन्दिर परिसर, नवनिर्मित भजनघर तथा आसपासका क्षेत्रमा बल्ब जडान गरी क्षेत्र झिलीमिली बनाइएको छ। यसअघि साँझपख पूजा, आरती र धार्मिक कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुने गरेकामा अब सहज भएको स्थानीयवासी बताउँछन्।
वडा नं ९ का अध्यक्ष रमेशबहादुर ऐरले विद्युत् सेवा विस्तारले धार्मिक गतिविधि सञ्चालनमा सहजता ल्याएको उल्लेख गरेका छन्। “पहिले अँध्यारोका कारण भक्तजनले सास्ती खेप्नुपथ्र्यो, अब मन्दिर परिसर उज्यालो बनेको छ”, उनले भने।
धाम क्षेत्रका पूर्वध्यक्ष भरतबहादुर ऐरका अनुसार विद्युत् सेवा पुगेपछि धाम क्षेत्रमा हुने धार्मिक कार्यक्रम, सत्सङ्ग तथा भजनकीर्तन रातिको समयमा पनि व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने भएको छ। नयाँ बनेको भजनघर र मन्दिर वरपर बल्ब जडान गरी धाम क्षेत्र झिलीमिली बनाएका छौँ।
धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको मणिका धाममा हरेक वर्ष फागुन शुक्ल पक्षको नवमीको राति र दशमीको दिन परम्परागत मेला (जाँत) लाग्ने गर्दछ।
यस वर्ष फागुन १३ (आज) र १४ गते मेला आयोजना हुँदैछ। बैजनाथ बाबाको दर्शन गर्दा इच्छित फल प्राप्त हुने विश्वासले नेपाल र भारतका हजारौँ दर्शनार्थी यहाँ आउने गर्दछन्।
झिलीमिली उज्यालोले अब मणिका धामलाई अझ आकर्षक बनाएको छ र क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।
विद्युत् सेवा विस्तारसँगै यस वर्षको मेलामा रातिको समयमा आउने भक्तजनले अँध्यारोको सास्ती खेप्न नपर्ने भएको छ। विद्युत् सेवा विस्तारसँगै धार्मिक कार्यक्रम, रातको पूजा, मेला सञ्चालन र स्थानीय व्यापार–व्यवसायमा नयाँ ऊर्जा थपिने भएको छ।