काठमाडौँ
००:००:००
१३ फाल्गुन २०८२, बुधबार

खिचिक्क

गोरखकाली रबर उद्योगको पछिल्लो अवस्था जीर्ण‚ झाडीले ढाकियो ६७० रोपनी

१३ फाल्गुन २०८२
सबै तस्बिर : प्रकाशचन्द्र तिमिल्सिना/नेपाल फोटो लाइब्रेरी।
अ+
अ-

काठमाडौँ। उद्योग विभागमा ३० जेठ २०४१ सालमा दर्ता भएर २०४२ सालमा राजा वीरेन्द्रले शिलान्यास गरेको गोरखकाली रबर उद्योगको संरचना अहिले जीर्ण बनेको छ। उद्योगका कलपुर्जामा खिया लागेका छन् भने माकुराका जालोले छोपिएका छन्।

गोरखा नगरपालिका १३‚ मझुवामा रहेको उद्योग विस्तारै भग्नावशेष हुने क्रममा छ। मुलुकको एकमात्र रबर उद्योगका रूपमा स्थापित यो उद्योगले २०५० को दशकदेखि व्यावसायिक रूपमा उत्पादन सुरु गरेको थियो। अहिले भने पूर्ण रूपमा बन्द छ। मित्रराष्ट्र चीनको सहयोगमा स्थापित उद्योग देशकै एउटा चर्चित उद्योग त थियो नै यसले राष्ट्रिय उत्पादन र पुँजीवृद्धिमा ठुलो टेवा पुर्याएको थियो।

सरकारी र निजी साझेदारीमा सञ्चालित उद्योगले प्रतिवर्ष गह्रौँ र हलुका गरेर विभिन्न प्रकारका एक लाख २० हजार वटा टायर उत्पादन गर्ने लक्ष्य राखेको थियो। उद्योग सञ्चालनका क्रममा विभिन्न प्रकारका ८८ हजार टायर प्रतिवर्ष उत्पादन भइरहेको थियो। ट्रकका लागि १२ प्रकारका, जिप-भ्यानका लागि पाँच प्रकारका र साना कारका लागि ६ प्रकारका टायर उत्पादन हुन्थ्यो। ६७० रोपनीमा रहेको उद्योगमा सरकार, सर्वसाधारण, एसियाली विकास बैंक, नेपाल आयल निगम, हिमाल सिमेन्ट, नेपाल साल्ट ट्रेडिङलगायत संघसंस्थाको साझेदारी थियो।

उद्योग सञ्चालनको सुरुकै चरणमा करिब ४०० जनाले विभिन्न क्षेत्रमा प्रत्यक्ष रोजगारी पाएका थिए। कुल टायर र ट्युबको आन्तरिक मागको करिब ४० प्रतिशत हिस्सा पूर्ति गर्न सफल भइसकेको उद्योगले विदेशी टायरसँग पनि राम्रै प्रतिस्पर्धा गरिराखेको थियो। नेपालमा उत्पादित टायर भारत, बंगलादेश, श्रीलंकालगायत दक्षिण एसियाली मुलुकमा निर्यात हुन्थ्यो। काठमाडौँ, पोखरा, चितवन, बुटवल, धरान, वीरगन्ज, जनकपुरलगायत ठुला ३० सहरमा आफ्नो डिपो राखेर बजार व्यवस्थापनसहित सफलता हासिल गरिरहेको उद्योग गोरखाका बासिन्दाका लागि मात्रै नभएर नेपालकै एउटा प्रतिष्ठा बनेको थियो।

तर विगत १० वर्षदेखि उद्योग पूर्ण रूपमा ठप्प छ। करिब १० अर्ब रुपैयाँबराबरको राज्यको सम्पत्ति र सयौँ रोपनी जमिन झाडीले घेरिएको छ। उद्योगका मेसिनहरूमा खिया लागेर चल्नै नसक्ने अवस्थामा पुगेका छन्। अहिले सुनसान देखिने यो क्षेत्रमा उद्योग रेखदेख र सुरक्षाका लागि केही सुरक्षागार्ड भने राखिएका छन्।

हेरौँ नेपाल फोटो लाइब्रेरीका लागि प्रकाशचन्द्र तिमिल्सेनाले खिचेका उद्योगका थप तस्बिर :