नाटक
विराटनगर। विराटनगरको हाटखोलामा रहेको आरोहण गुरुकुलको मञ्चमा कक्षा ९ का किशोर-किशोरी थिए। उनीहरूको अभिनयमा ‘काँचोपन’ छैन। उनीहरूले एउटा यस्तो कथा बुनिरहेका थिए, जसले हलमा उपस्थित अभिभावक र शिक्षकलाई गम्भीर भएर सोच्न बाध्य बनाइरहेको थियो।
विराटनगरस्थित मोर्डन एरा स्कुलका विद्यार्थीले बुधबार मञ्चन गरेको नाटक ‘बाटो बिराएको बादल’ ले एउटा निर्दोष छात्राको सपना कसरी अभिभावकीय बेवास्ताको चपेटामा पर्छ भन्ने तीतो यथार्थलाई अभिनयमा उतार्यो। रचना सापकोटाको लेखन रहेको नाटकलाई कक्षा ९ मा अध्ययनरत छात्र दिवस न्यौपानेले निर्देशन गरेका हुन्। उनले मञ्चमा आफ्ना १४ सहपाठीलाई यसरी उतारे कि लाग्थ्यो, उनीहरू अभिनय मात्र गरिरहेका छैनन्, समाजको एउटा विकृतिविरुद्ध विद्रोह गरिरहेका छन्।

‘बाटो बिराएको बादल’ नाटकका कलाकार।
नाटकको केन्द्रमा कक्षा ९ की छात्रा रचना सापकोटा छिन्। जसका अभिभावक व्यस्तताको बहानामा उनलाई समय दिँदैनन्। उनी मामा र माइजूको घरमा बसेर अध्ययन गरेकी हुन्थिन्। अभिभावकको बानी र घरभित्रको सुरक्षा अभावले ती छात्रा कसरी ठुलो दुर्घटनाको सिकार बन्छिन् भन्ने पक्षलाई नाटकले सशक्त ढंगले उठाएको छ।
नाटक हेर्न पुगेका प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले विद्यार्थीको प्रस्तुति देख्दा आफू भावुक बनेको बताए। “विद्यार्थीले मञ्चमा अभिनय मात्र गरेनन्, एउटा गम्भीर सामाजिक सन्देश प्रवाह गरे,” उनले भने, “अभिभावक र स्कुल प्रशासनका लागि यो एउटा ठुलो पाठ हो।”

नाटक हेर्न आएका विद्यार्थी र अभिभावक।
नाटकको व्यवस्थापन साइमन कार्कीले सम्हालेका थिए। प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकीले विद्यार्थीले यति गहन विषयवस्तुलाई गम्भीर ढंगले उठान गरेकोमा प्रशंसा गरे। मोर्डन एराका प्रिन्सिपल इन्द्रकुमार राईका अनुसार विद्यालयले किताबी ज्ञानमा मात्र सीमित नभई विद्यार्थीको बहुआयामिक विकासमा जोड दिँदै आएको छ। “हाम्रो उद्देश्य विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने मात्र होइन, उनीहरूभित्र लुकेको कला र सामाजिक चेतनालाई पनि प्रस्फुटन गराउनु हो,” उनले भने।

‘बाटो बिराएको बादल’ नाटकका कलाकार।

‘बाटो बिराएको बादल’ नाटकका कलाकार।