काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले संविधान संशोधनका पाँच प्रस्ताव सार्वजनिक गर्दै मतदातासँग छलफलको आह्वान गरेका छन्।
उनले स्थानीय तहको संख्या ७५३ बाट घटाएर ५०० भन्दा कम बनाउन र वडाको आकार बढाउनुपर्ने प्रस्ताव गरेका छन्। प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र बढीमा पाँच मन्त्रीको व्यवस्था संविधानमै राख्नुपर्ने उनको धारणा छ।
त्यस्तै, प्रदेश सभा र संघीय संसदको निर्वाचन प्रणाली सुधार गरी समानुपातिक प्रणाली पुनरावलोकन गर्नुपर्ने उनले बताएका छन्। संवैधानिक परिषद् र आयोगहरूको संरचना सच्याउने तथा दलहरूको आन्तरिक लोकतन्त्र संविधानमै सुनिश्चित गर्नुपर्ने उनको प्रस्ताव छ।
भट्टराईले भ्रष्टाचार नियन्त्रण निकायहरूको पुनर्संरचना गरी स्वतन्त्र र पारदर्शी बनाउने विषयलाई पनि संशोधनको मुख्य एजेण्डा बनाएका छन्।




