काठमाडौँ
००:००:००
१४ फाल्गुन २०८२, बिहीबार

पूर्वाधार

मोरङको कटहरीमा पाँच किलोमिटर सडक नबन्दा स्थानीयलाई सास्ती

१४ फाल्गुन २०८२
निर्माण सुरु भएको ६ वर्षमा पनि पूरा नभएको रंगेली – हाटखोला सडकअन्तर्गत कटहरी चोकको सडक। सबै तस्बिर : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। आसन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवारहरू कटहरी क्षेत्रमा मत माग्न जाँदा त्यहाँको पाँच किलोमिटर जीर्ण सडक बनाउने बाचा गरेर मतदाता फकाइरहेका छन्। यसपालि मात्र होइन, मोरङको रंगेली हाटखोला सडकखण्डमा पर्ने यो सडकलाई राजनीतिक दलहरूले वर्षौंदेखि चुनावी अजेन्डा बनाउँदै आएका छन्। हुलाकी राजमार्गअन्तर्गतको यो सडक खनेर त्यसै छाडिँदा वर्षाको बेला हिलाम्य र अरु बेला धुलाम्मे भएर स्थानीयवासी आजित छन्।

कटहरी गाउँपालिका–१ की प्रमिलादेवी कामत चुनावको बेला दलका नेताहरूले यही अधुरो सडकबारे आश्वासन दिएर मत माग्ने गरेको र चुनावपछि कसैले वास्ता नगरेको गुनासो गर्छिन्। कटहरी चोकमा दुई दशकदेखि खाजा पसल चलाइरहेकी उनी भन्छिन्, “सडक बनाउन हामीले आन्दोलन गर्‍यौँ, धर्ना दियौँ, तर कसैले सुनेनन्।

प्रमिलादेवी कामत।

पाँच किलोमिटर सडक बनाउन २०७६ सालमा ठेक्का लागेको थियो। तर ६ वर्ष भइसक्दा सम्पन्न भएको छैन। ७६ करोड रुपैयाँमा ठेक्का पाएको श्रेष्ठ कन्स्ट्रक्सनले २०८० सालसम्म काम गर्दा २७ प्रतिशत मात्र काम सकेको छ।

प्रमिलादेवीको आक्रोश विशेषगरी चुनाव जितेर गएकाहरूप्रति बढी छ। “२०७९ सालको चुनाव प्रचारमा आउँदा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले यो सडक बनाउन पहल गर्ने बाचा गर्नुभएको थियो। उहाँले जित्नुभयो, मन्त्री पनि हुनुभयो, तर सडक बनेन,” उनी भन्छिन्, “अहिले फेरि उहाँ नै नेकपाबाट उम्मेदवार भएर आउनुभएको छ। यसको जवाफ हामी मतदानमा दिनेछौँ।”

११ फागुनको टन्टलापुर घाममा कटहरी २ स्थित कटहरी चोक पुग्दा ५३ वर्षीय महमद समसुल मिया आफ्नो मासु पसल अगाडि थिए। उनको अनुहारमा बिसन्चोसँगै दिक्दारीको भाव थियो। पसल अगाडिबाट हुइँकिने गाडीले उडाएको धूलोले उनको स्वास्थ्यसँगै व्यापारमा पनि असर गरेको छ। कुनै समय दैनिक तीन–चार वटा खसीबोकाको मासु बिक्री गर्ने समसुललाई अहिले एउटा खसी बेच्न पनि धौ–धौ पर्छ। धूलो देखेपछि ग्राहक पसल छिर्नै मान्दैनन्,” उनी भन्छन्, “बाटोको धूलोका कारण रुघाखोकीले छोड्दैन। हाम्रो दुःख कसैले देख्दैन।”

व्यापार चौपट भएपछि पसलको भाडा जुटाउनै मुस्किल परेको उनी सुनाउँछन्।

समसुलको पसलभन्दा ५० मिटर पूर्वमा दुई दशकदेखि खसीको मासु बेचिरहेका गुलाम मुस्सिफाको पीडा पनि उस्तै छ। सडकमा उड्ने धूलो सिधै उनको पसलमा पुग्छ। “बाटो भत्काउनुअघि पाँच वटासम्म खसी बिक्री हुन्थ्यो,” गुलाम भन्छन्, “अहिले त १० केजी बेच्न पनि गाह्रो छ। महिनाको १५ हजार भाडा कसरी तिर्ने हो खै!

कटहरी चोकमा खसीको मासु पसल चलाउने गुलाम मुस्सिफा।

यो केवल दुई व्यापारीको समस्या होइन, कटहरी चोकका झन्डै एक सय व्यवसायी र यहाँका सयौँ घरपरिवारको साझा व्यथा हो।

धुलाम्मे सडकको सास्ती कतिसम्म छ भन्ने कुरा कटहरी–४ का रामबहादुर कार्कीको अनुभवले बताउँछ। जब उनी खाना खान बस्छन्, भातमा धूलोको पातलो पत्र जमेको देख्छन्। “घरका झ्यालढोका चौबीसै घण्टा बन्द हुन्छन्, तर धूलोलाई केले छेक्दो रहेछ र? थालमा मात्र होइन, ओछ्यानमा समेत धूलोको तह हुन्छ,” उनी भन्छन्, “हामीले विकास मागेका थियौँ, तर रोग र सास्ती पायौँ।”

 कटहरी चोक।

सडक नबनेका कारण यो खण्ड अहिले ‘मृत्युमार्ग’ जस्तै बनेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० यता यो सडकमा भएका दुर्घटनामा १४ जनाले ज्यान गुमाइसकेका छन् भने १३९ जना घाइते भएका छन्। सडक नबनेपछि स्थानीयले विरोधस्वरूप धान रोपेर र बाटो बन्द गरे पनि सुनुवाइ नभएको स्थानीय दिलीप अधिकारी बताउँछन्।

थारु समुदायको बाक्लो उपस्थिति रहेको यस क्षेत्रमा मोदीको पकड बलियो छ। यद्यपि, २०७९ सालको चुनावमा नेपाली कांग्रेससँगको तालमेलका कारण जितेका उनका लागि यसपटक नेकपा गठबन्धनबिना चुनावी मैदानमा हुनु चुनौती हो।

निर्वाचनका लागि मोरङ ४ का उम्मेदवारहरूले विभिन्न महत्त्वाकांक्षी सपना बाँडिरहँदा कटहरीका मतदाता भने यही सडकबारे प्रश्न सोध्ने गरेका छन्।

कटहरीमा ३५ वर्षदेखि खाजा पसल चलाइरहेका ६० वर्षीय दिलीप साह यसपटक आश्वासन दिनेलाई होइन, काम गर्न सक्नेलाई मात्र मत दिने बताउँछन्। अलपत्र सडकले व्यापारमा थपेको हैरानीबारे उनी भन्छन्, बिहानभरि मिहिनेत गरेर खाजा पकायो, दिनभरिको धूलोले सबै बर्बाद गरिदिन्छ।”

उनकै पसल अगाडि कटहरी–३ का अशोक राम मोचे जुत्ता–चप्पल सिलाउँछन्। दिनभर मास्क लगाएर काम गर्ने उनी भन्छन्, “पुराना पार्टीका नेताबाट केही नहुने रहेछ। पाँच किलोमिटर सडक पनि बनाउन नसक्नेलाई किन भोट दिने? यसपटक नयाँलाई भोट दिने हो।”

अशोकराम मोचे।

त्रिपक्षीय भिडन्त

मोरङ क्षेत्र नम्बर ४ मा यसपटकको चुनावी प्रतिस्पर्धा निकै रोचक छ। अघिल्ला दुई निर्वाचनमा सहकार्य गरेका नेताहरू अहिले आमनेसामने छन्। पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अमनलाल मोदी यहाँ जितको ‘ह्याट्रिक’ गर्ने दाउमा छन्। थारु समुदायको बाक्लो उपस्थिति रहेको यस क्षेत्रमा मोदीको पकड बलियो छ। यद्यपि, २०७९ सालको चुनावमा नेपाली कांग्रेससँगको तालमेलका कारण जितेका उनका लागि यसपटक नेकपा गठबन्धनबिना चुनावी मैदानमा हुनु चुनौती हो। २०७९ मा उनले ३० हजार ६१२ मतसहित नेकपा (एमाले)का विनोद ढकाललाई पराजित गरेका थिए।

यसपटकको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पूर्वपत्रकार सन्तोष राजवंशीको उम्मेदवारीले परम्परागत दलका नेताहरूलाई झस्काएको छ। २०७९ को निर्वाचनमा रास्वपाले ल्याएको पाँच हजार ३३३ मत यसपटक बढ्ने आकलन गरिएको छ।

यस क्षेत्रमा कांग्रेसबाट महामन्त्री गुरुराज घिमिरे प्रतिस्पर्धामा छन्। उनका लागि यो निर्वाचन राजनीतिक पुनरागमनको परीक्षा हो। प्रखर वक्ताका रूपमा चिनिने घिमिरे कांग्रेसको पुरानो विरासत फर्काउने प्रयासमा छन्। एमालेले केन्द्रीय सदस्य तथा कोसी प्रदेशका पूर्वमन्त्री जीवन घिमिरेलाई मैदानमा उतारेको छ। २०७९ को स्थानीय तह निर्वाचनमा यस क्षेत्रका २३ वडामध्ये १८ वटामा एमालेले जित हासिल गर्नु घिमिरेका लागि बलियो आधार हो। तर, प्रदेशसभामा कांग्रेसका भीम पराजुलीसँग पराजित भएका घिमिरेका लागि एमालेको त्यो सांगठनिक मत जोगाउनु मुख्य चुनौती छ।

यसपटकको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पूर्वपत्रकार सन्तोष राजवंशीको उम्मेदवारीले परम्परागत दलका नेताहरूलाई झस्काएको छ। २०७९ को निर्वाचनमा रास्वपाले ल्याएको पाँच हजार ३३३ मत यसपटक बढ्ने आकलन गरिएको छ।

एक लाख १९ हजार २५५ मतदाता रहेको मोरङ ४ मा ग्रामथान, कटहरी, बेलबारीका केही वडा र विराटनगर महानगरपालिकाका मुख्य वडाहरू पर्छन्। २०७९ को समानुपातिक मत हेर्दा कांग्रेस पहिलो (१९ हजार ५५५), एमाले दोस्रो (१८ हजार ३८६) र तत्कालीन माओवादी केन्द्र तेस्रो (नौ हजार ७६०) स्थानमा छन्।