काठमाडौँ
००:००:००
१४ फाल्गुन २०८२, बिहीबार

क्रिकेट

क्रिकेटको महारथी मानिने देशहरू उदासीन बन्दा एसोसिएट राष्ट्रको क्रिकेट विकासमा अवरोध

१४ फाल्गुन २०८२
इङ्ल्यान्डविरुद्धको खेलमा सन्दीप लामिछाने। तस्बिर : क्यान
अ+
अ-

टी–२० विश्वकपमा दुई वर्षअघि डेब्यु गरेको क्यानडा हाल भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरिरहेको विश्वकपमा पुनः सहभागी बन्यो।

सन् २०२४मा पहिलोपल्ट विश्वकप खेल्दा उसले भारत, पाकिस्तान र आयरल्यान्डजस्ता टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गरेको थियो। त्यतिबेला क्यानडाले आफूभन्दा निकै बलियो आयरल्यान्डलाई १२ रनले पराजित गर्दै सनसनी मच्चायो। त्यसयता १९ अन्तर्राष्ट्रिय टी–२० मा सहभागी भयो तर एउटा पनि ठूलो राष्ट्रसँग खेल्ने सौभाग्य प्राप्त गरेन।

दुई वर्षपछि उसले दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अफगानिस्तानजस्ता टेस्ट राष्ट्रसँग खेल्ने अवसर प्राप्त गर्‍यो। तर, तीनवटै खेलमा नराम्रोसँग पराजित भयो। यो नतिजासँगै पूर्वकप्तान साद बिन जफरले भन्न भ्याए, “विश्वकपमा हामीजस्ता टोलीलाई सीधै ठूला प्रतिस्पर्धीसँग खेल्न पठाइन्छ। त्यसैले खेल कमजोर हुन्छ।”

एसियाली क्षेत्रमा समावेश नेपालले कहिलेकाहीँ भारत र पाकिस्तानजस्ता बलिया राष्ट्रविरुद्ध एसिया कपमा खेल्ने अवसर प्राप्त गर्छ। तर, क्यानडालाई यो अवसर पनि जुरेको देखिँदैन। क्षेत्रीय प्रतियोगिताका नाममा उसले गत वर्षदेखि सुरु भएको उत्तर अमेरिकी कप खेल्ने अवसर प्राप्त गरेको थियो, जसमा अमेरिका, केन्या, आयरल्यान्ड, बर्मुडा र बहमासजस्ता तुलनात्मक रूपले कमजोर टोली सहभागी थिए।

यसले एसोसिएट राष्ट्रका लागि टी–२० विश्वकप उत्कृष्ट प्रदर्शन गर्नेभन्दा पनि क्रिकेटका स्थापित देशसँग खेल्ने अवसर मात्र बन्न थालेको छ ।

क्रिकेटर सोमपाल कामी। तस्बिर : क्यान

साना टिम, ठूला सम्भावना

अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसीसी)ले सन् २०२१सम्म पाँच एसोसिएट राष्ट्रलाई टी–२० विश्वकप खेल्ने अवसर प्रदान गरेको थियो। यो संख्या बढाएर २०२४ देखि आठ पुर्‍याइएको छ।

यसबीच साना राष्ट्रले थुप्रै झट्का दिएका छन्, विश्वकपमा। जसको सुरुआत नेदरल्यान्ड्सले सन् २००९को विश्वकपदेखि नै सुरु गरेको हो। उसले त्यो विश्वकपमा इंग्ल्यान्डलाई चार विकेटले पराजित गर्दै सनसनी मच्चाएको थियो। त्यो खेलको नतिजालाई उतिबेला ‘संयोग’ मान्ने धेरै थिए। तर, २०१४को विश्वकपमा उसले जिम्बाब्वे र आयरल्यान्डलाई हराउँदै सुपर–१०मा पहिलो स्थान बनाएपछि पुनः इंग्ल्यान्डलाई ४५ रनले पराजित गर्‍यो। यसपछि नेदरल्यान्ड्सको जितलाई संयोग मान्नेहरू वास्तविकतातर्फ मोडिएका थिए।

नेदरल्यान्ड्सले विश्वकपमा थुप्रै बलियो राष्ट्रलाई स्तब्ध बनाएको छ। अझ, अफगानिस्तानले २०१६मा आफू एसोसिएट राष्ट्र हुँदा जिम्बाब्वेलाई ५९ रनले पराजित गर्दै विश्व क्रिकेटमा आफू पनि बलियो राष्ट्र भएको प्रमाणित गरेको थियो।

विश्वकपको चालु संस्करणमा ठूला उलटफेर कम देखिए। तर, एसोसिएट राष्ट्रको चुनौती बलियो नै देखिएको छ। नेदरल्यान्ड्सविरुद्ध जितका लागि पाकिस्तानले अन्तिम तीन बलसम्म कुर्नुपरेको अवस्था होस् या अमेरिकालाई हराउन डिफेन्डिङ च्याम्पियन भारतले संघर्ष गर्नुपरेको क्षण– यी सबै घटनाले टी–२० क्रिकेटमा शक्ति–सन्तुलन क्रमशः बदलिँदै गएको संकेत गर्छ।

यस्तै, सन् २०२१मा नामिबियाले आयरल्यान्ड र स्कटल्यान्डले बाङ्लादेशलाई पराजित गर्दै सनसनी मच्चाएका थिए। २०२२ को विश्वकपमा स्कल्यान्डले दुईपल्टको विश्वविजेता वेस्ट इन्डिजलाई ४२ रनले हराएको घटना सायदै कसैले भुलेका होलान् । अझ, २०२४मा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा पराजित गर्दै विश्वकपमा नयाँ उपलब्धि चुमेको थियो। यही विश्वकपमा ऊ सुपर–८ मा स्थान बनाउने दोस्रो एसोसिएट राष्ट्र बनेको थियो।

विश्वकपको चालु संस्करणमा ठूला उलटफेर कम देखिए। तर, एसोसिएट राष्ट्रको चुनौती बलियो नै देखिएको छ। नेदरल्यान्ड्सविरुद्ध जितका लागि पाकिस्तानले अन्तिम तीन बलसम्म कुर्नुपरेको अवस्था होस् या अमेरिकालाई हराउन डिफेन्डिङ च्याम्पियन भारतले संघर्ष गर्नुपरेको क्षण– यी सबै घटनाले टी–२० क्रिकेटमा शक्ति–सन्तुलन क्रमशः बदलिँदै गएको संकेत गर्छ।

यही विश्वकपको समूह ‘डी’मा नेपालले दुईपटकको विश्वविजेता इंग्ल्यान्डलाई अन्तिम बलसम्म तान्दै ४ रनको हार बेहोरेको थियो। पहिलोपटक विश्वकप खेलेको इटालीले पनि इंग्ल्यान्डलाई दह्रो चुनौती दिँदै सम्भावनाको बलियो संकेत गरेको छ।

नेपाल भर्सेस इटाली। तस्बिर : आइसीसी

एसोसिएट राष्ट्रको प्रदर्शनलाई संयोग मात्र मान्न नहुने वेस्ट इन्डिजका मुख्य प्रशिक्षक डारेन सामी जिकिर गर्छन्। एसोसिएट राष्ट्रले ‘एक्सपोजर’ पाउने हो भने निकै राम्रो गर्ने उनी बताउँछन्। “टेस्ट मान्यता प्राप्त टिमले एसोसिएट देशको क्रिकेट विकासमा योगदान दिनुपर्ने हो। विश्व क्रिकेटमा नेपाल मात्र होइन, उदीयमान देशलाई सहयोग गर्नुपर्छ,” उनी भन्छन्।

अघि बढ्न दिँदैनन् टेस्ट राष्ट्र !

एसोसिएट राष्ट्रलाई टेस्ट राष्ट्रले अगाडि बढ्न नदिएको आरोप बेलाबेलामा लाग्दै आइरहेको छ। यसको पुष्टि आईसीसीको संरचना, आर्थिक वितरण प्रणाली र प्रतियोगितात्मक ढाँचाले पनि गर्छ।

आईसीसीले सन् २०१४मा ल्याएको राजस्व बाँडफाँडसम्बन्धी मोडेलले विवाद निम्त्याएको थियो। उक्त मोडेलअनुसार आईसीसीले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई), इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) र क्रिकेट अस्ट्रेलिया (सीए)लाई अन्य सदस्य राष्ट्रभन्दा धेरै पैसा छुट्याएको छ।

प्रसारण अधिकारबाट प्राप्त अधिकांश आम्दानी यी तीन बोर्डले बाँड्ने र एसोसिएट राष्ट्रको हातमा न्यून बजेट पर्ने गरेको छ। आईसीसीका पूर्वअध्यक्ष पाकिस्तानका अहसान मनी भन्ने गर्थे, “क्रिकेटको संरचना केही शक्तिशाली बोर्डतर्फ मात्र झुकेको छ। यसले साना राष्ट्रहरूको विकासलाई असर गर्छ।”

एसोसिएट राष्ट्रसँग खेल्दा आर्थिक फाइदा कम हुने भएकाले बलिया राष्ट्रहरूले नियमित शृंखला खेल्न नमानेको नेपालका पूर्वकप्तान उत्तम कर्माचार्य बताउँछन्। “यसले खेलमा मात्र होइन, एसोसिएट राष्ट्रको पूर्वाधार विकासमा पनि असर पारिरहेको छ,” उनी भन्छन्।

प्रतियोगितात्मक अवसरको सन्दर्भमा पनि अहसान मनीको भनाइ उस्तै देखिन्छ। सन् २०१५ को एकदिवसीय विश्वकप क्रिकेटमा १४ राष्ट्र सहभागी भएको अवस्थालाई आईसीसीले २०१९ मा घटाएर १० मा सीमित गरेको थियो। यसले स्कटल्यान्ड, नेदरल्यान्ड्सजस्ता राष्ट्र विश्वकपबाट बाहिरिन पुगे। स्कटल्यान्डका तत्कालीन कप्तान काइल कोएट्जरको भनाइमा १० टोलीको विश्वकपले क्रिकेटलाई साँघुरो बनाएको छ।

टोली संख्या घट्दा क्रिकेटको विश्वव्यापी विस्तारको लक्ष्यलाई प्रभावित मात्र तुल्याएको छैन, नयाँ राष्ट्रलाई टेस्ट मान्यता पाउन गाह्रो परिरहेको छ। आयरल्यान्ड र अफगानिस्तानले २०१७ मा टेस्ट मान्यता पाएयता कुनै एसोसिएट राष्ट्र अगाडि बढ्न सकेका छैनन्। नेपाली कप्तान रोहित पौडेल भन्छन्, “पछिल्लो विश्वकपयता हामीले वेस्ट इन्डिजविरुद्ध मात्र खेल्न पायौँ। यसले हाम्रो क्षमतालाई माथिल्लो स्तरसम्म लैजान बाधा पुर्‍याएको छ।”

नेदरल्यान्ड र भारतका खेलाडी। तस्बिर : आइसीसी

फुटबल क्रिकेटभन्दा लोकप्रिय खेल मानिन्छ। तर, फिफा वरीयताको दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले गत वर्ष १५६ स्थानमा रहेको पोर्तो रिकोसँग मैत्रीपूर्ण खेल खेल्यो। क्रिकेटको हकमा एसिया कपलाई अपवाद मान्ने हो भने २०२४ देखि २०२६ सम्म भारतले ३५ टी–२० खेल्यो। तर, यसमा कुनै एसोसिएट राष्ट्र समावेश थिएनन्।

एसोसिएट राष्ट्रसँग खेल्दा आर्थिक फाइदा कम हुने भएकाले बलिया राष्ट्रहरूले नियमित शृंखला खेल्न नमानेको नेपालका पूर्वकप्तान उत्तम कर्माचार्य बताउँछन्। “यसले खेलमा मात्र होइन, एसोसिएट राष्ट्रको पूर्वाधार विकासमा पनि असर पारिरहेको छ,” उनी भन्छन्।

आईसीसीले यसतर्फ ध्यान नदिँदा बलिया राष्ट्रहरू आर्थिक रूपमा झन् बलिया र हामी (नेपाल)जस्ता एसोसिएट राष्ट्रहरू कमजोर बन्दै गइरहेका छौँ । यसतर्फ आईसीसीले बेलैमा ध्यान पुर्‍याउने हो कि ?