काठमाडौँ
००:००:००
१५ फाल्गुन २०८२, शुक्रबार

१५ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले १० वटा वडाभित्रका ५०९ वटा स्थानका प्राचीन र मौलिक नाम निश्चित भएको जनाएको छ।

सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा यसअघि दुई चरणमा गरेको अध्ययनबाट ४३० वटा मूल नाम र ७९ वटा सहायक नाम यकिन गरेको कामपा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले जानकारी दिइन् ।

त्यसैगरी, तेस्रो चरणमा थप आठ वटा वडाको मौलिक र प्राचीन नाम अध्ययन गर्ने सम्झौता अवसरमा यससम्बन्धी जानकारी दिइएको हो । तेस्रो चरणको अध्ययनका लागि कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतको रोहबरमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशन रिजा जोशीले हस्ताक्षर गरेका हुन् । यस चरणमा वडा नं १२, १३, १५, २१, २२, २३, २७ र २८ का बस्ती तथा स्थानको मौलिक नामको अध्ययन गरिने राईले जानकारी दिइन् ।

सम्झौता अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले, नाम केवल बोलाउनका लागि प्रयोग गरिने शब्द मात्र नभएको उल्लेख गरिन् । “हरेक नामको पछाडि केही न केही तथ्य हुन्छ।

इतिहास, संस्कृति, सभ्यता तथा समाजको कथा हुन्छ । यस कारण नाम राख्ने र प्रचलनमा ल्याउने कामलाई हलुका रूपमा लिन हुँदैन,” नामसम्बन्धी परिचय पाटी राख्ने विषय उठाउँदै उनले भने, “परिचय पाटी राख्दा दृश्य प्रदूषण हुने गरी नराख्नुहोला । सकेसम्म पहिलेकै ठाउँमा राख्नुहोला । नत्र भए हेर्दा आँखा नबिझाउने, अरूलाई असर नपार्ने ठाउँमा राख्नुहोला ।”

विभागका प्रमुख राईका अनुसार यसअघि पहिलो चरणमा वडा नं ५, ६, ७, १८, २४ को र दोस्रो चरणमा वडा नं ८, १७, १९, २०, र २५ मा अध्ययन भइसकेको छ । अध्ययनका क्रममा वडाभित्र भएका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वमा आधारित स्थान तथा बस्तीको मौलिक एवं प्राचीन नामकरणसम्बन्धी अध्ययन तथा अभिलेखीकरण भएको उनले जानकारी दिइन् ।

अध्ययनका क्रममा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व भएका टोल, बस्ती, मठमन्दिर, वहाल, बही, धारा, सत्तल, पाटीहरूको अध्ययनबाट प्राचीन नाम पत्ता लगाइन्छ । यसरी पहिचान गरिएको नामलाई स्थानीयवासी, समुदाय, संस्कृतिविद्, पुरातत्त्वविद्, भाषाविद् तथा इतिहासविद्हरूसँग नाम पुष्टि गराइन्छ ।