हुम्ला। जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबारदेखि लागु हुनेगरी जिल्लाभर पूर्णरूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ।
आसन्न फागु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिराजन्य पदार्थ बिक्री वितरणका साथै सेवनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले बताए।
शुक्रबार जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा निर्वाचन सम्पन्न भई मत परिणाम घोषणा नभएसम्म जिल्लाभर बिक्री वितरणका साथै सेवन गर्न नपाइने जारी विज्ञप्तीमा उल्लेखीत गरिएको छ।
आसन्न निर्वाचनलाई शान्त र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ। प्रशासनको यो कार्यलाई अवज्ञा गरी मदिरा बिक्री वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजीम कारबाही गरिने भएको सहायक प्रमुख जिल्ला अधिकारी चन्दले बताए।
जिल्ला प्रशासन कार्यालयले सबै सरोकारवाला तथा सर्वसाधारणलाई सूचनाको पालना गर्न आग्रह गरेको छ।