दुबई। अमेरिका–इरान आणविक वार्तामा तनाव बढिरहेका बेला इजरायलले शनिबार इरानको राजधानी तेहरानमा दिनदहाडै आक्रमण गरेको छ।
सहरको केन्द्र भागबाट धुवाँका बाक्लो बादल उठेको देखिएको छ भने आक्रमण सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको कार्यालय नजिकै केन्द्रित भएको जनाइएको छ।
छयासी वर्षीय खामेनी आक्रमणका बेला कार्यालयभित्र थिए कि थिएन् भन्ने तत्काल स्पष्ट हुन सकेको छैन। अमेरिकासँगको बढ्दो तनावका कारण उहाँ केही दिनयता सार्वजनिक रूपमा देखिएका थिएन। यसैबीच, अमेरिकाले इरानलाई आणविक कार्यक्रमबारे सम्झौतामा ल्याउन दबाब बढाउँदै क्षेत्रमा लडाकू जेट र युद्धपोत तैनाथ गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको आणविक कार्यक्रम नियन्त्रणमा ल्याउने उद्देश्यले सम्झौता चाहन्थे। इरान भने युरेनियम संवर्धन गर्ने आफ्नो अधिकार कायम राख्न चाहन्छ र लामो दूरीका क्षेप्यास्त्र कार्यक्रम वा हमास तथा हिजबुल्लाह जस्ता सशस्त्र समूहलाई समर्थनबारे वार्ता गर्न इच्छुक देखिएको छैन। देशभित्र बढ्दो असन्तोष र विरोधबीच इरान युद्धबाट बच्न चाहिरहेको सङ्केत दिइरहेको छ।
इरानले तत्काल प्रतिआक्रमण गर्नेबारे स्पष्ट जानकारी दिएको छैन, तर क्षेत्रभर फैलिएका अमेरिकी सैन्य अड्डा र कर्मचारी कुनै पनि जवाफी कारबाहीको लक्ष्य बन्न सक्ने चेतावनी दिएको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले आक्रमण ‘धम्की हटाउने’ उद्देश्यले गरिएको बताउनुभएको छ, यद्यपि विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
तेहरानका प्रत्यक्षदर्शीहरूले खामेनीको कार्यालय आसपास पहिलो विस्फोटको आवाज सुनेको बताएका छन्। इरानी राज्य टेलिभिजनले विस्फोटको पुष्टि गरे पनि कारण खुलाएको छैन। त्यही समयमा इजरायलभर साइरन बजाइएको थियो। इजरायली सेनाले ‘सम्भावित क्षेप्यास्त्र प्रहारको तयारीस्वरूप’ जनतालाई सतर्क रहन आग्रह गरेको जनाएको छ।
इजरायलले थप आक्रमण भइरहेको दाबी गरेपछि तेहरानमा थप विस्फोटका आवाज सुनिएको रिपोर्ट आएको छ। हालसम्म हताहतबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। आक्रमणपछि इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ र पाइलटहरूलाई विशेष चेतावनी जारी गरिएको छ।
अमेरिकी सेनाले घटनाबारे तत्काल टिप्पणी गर्न अस्वीकार गरेको छ। घटनाले मध्यपूर्वमा नयाँ सैन्य टकरावको जोखिम बढाएको विश्लेषण गरिएको छ।