सृजना

६० सेकेन्डभित्रका क्याची हुकवाला रिल्स, युट्युब सर्ट्स र टिकटकको जमाना छ। एक स्वाइपमा मकैबारी दर्‍यामदर्‍याम, अर्कोमा कट्टा हान्दिन्छु... जस्ता गीतहरूको आतंक छ।

१६ फाल्गुन २०८२
ग्रामोफोन। तस्बिर स्रोत : वाइल्ड याक रेकर्डस्
अ+
अ-

हामी आउटडेटेड भएछौँ कि क्या हो, हाम्रा गीतहरू अलि कम बज्न थालेका छन्।

गायक/संगीतकार दीप श्रेष्ठले २०५९ सालमा शृङ्‌खला एल्बम निकालेपछि मिडियासँग गरेको गुनासो हो यो।

समय फेरियो, अब त रेडियो, एफएम वा टीभीमा आफ्ना गीत प्रसारण भएनन् भनेर गुनासो गर्नुको औचित्य पनि रहेन। रेडियो वा टीभीमा त कमसेकम मान्छेले गीत बजाउँथे। अहिले सामाजिक सञ्जालमा अल्गोरिदमले निर्देशित गर्छ। १० देखि ६० सेकेन्डभित्रका क्याची हुकवाला रिल्स, युट्युब सर्टस् र टिकटकको जमाना छ। एक स्वाइपमा ‘मकैबारी दर्‍यामदर्‍याम’, अर्कोमा ‘कट्टा हान्दिन्छु’ जस्ता गीतहरूको आतंक छ।

सर्जकहरू केही सेकेन्डमै दर्शक-श्रोताको ध्यान खिच्न नसके आफ्नो परिचय संकटमा पर्ने मनोवैज्ञानिक दबाब छन्। गीतको लम्बाइ घट्ने क्रम जारी छ। टुक्रे क्लिप्सहरू स्क्रोल गर्ने आदतले अलि लामो समय अडिएर सुन्ने/हेर्ने हाम्रो धैर्यको परिक्षा लिइरहेको छ।

समय फेरिएसँगै गति त बढ्यो, तर गीत-संगीतको गहिराइ?

‘सुन रे सियाराम’, ‘राई माइलाले गाउँ छोड्यो रे’ जस्ता गीतका रचनाकार तथा कवि श्रवण मुकारुङ भन्छन्, “कलाको दृष्टिले, गहिराइको दृष्टिले हेर्दा, नयाँ पुस्ताले गीत-संगीतमा मिहिनेत अलि नगरेको हो कि?”

आधुनिक संगीतको स्वर्णकालीन समयकी साक्षी गायिका ज्ञानु राणाको मूल्यांकन पनि उस्तै छ, “सबैलाई हतार छ। हाम्रो समयमा एक महिना अभ्यास गरेर गीत तयार गरिन्थ्यो। अचेल त्यो फुर्सद, त्यो जाँगर र साधना देखिन्न।” उनी ‘मान्छेको माया यहाँ’, ‘सिरीमा सिरी नि कान्छी’ लगायत थुप्रै लोकप्रिय गीतकी गायिका हुन्।

माथि बायाँबाट शान्ति ठटाल, अम्बर गुरुङ, फत्तेमान र गोपाल योञ्जन। तस्बिर : युट्युब

तीन दशकदेखि सक्रिय गायक/संगीतकार स्वरूपराज आचार्यको विचारमा अचेल भाइरल हुने खालका गीतहरूको बिगबिगी छ। उनी भन्छन्, “अहिले सामाजिक सञ्जालमार्फत गीत हिट बनाउने प्रतिस्पर्धा बढेको छ। ३० सेकेन्डमै दर्शकको ध्यान खिच्नुपर्ने अवस्था छ। त्यसैले प्रायः त्यस्तै गीतहरू बन्छन्।”

कहाँ बिलायो त्यो मेलोडी? गीतबाट कहाँ हरायो त्यो साहित्य? कहाँ हरायो आधुनिक संगीत?

यस्तो माहोलमा प्रश्न स्वाभाविक उब्जिन्छ– के अचेल राम्रा गीत बन्दैनन्? संगीतबाट कहाँ बिलायो त्यो मेलोडी? गीतबाट कहाँ हरायो त्यो साहित्य? गायनमा खोइ त पहिलाको पुस्ताको जस्तो साधना? कहाँ हरायो त्यो आधुनिक संगीतको विरासत?

आधुनिक संगीत भन्नेबित्तिकै धेरैलाई बच्चु कैलाश, नातिकाजी, शिवशंकर मानन्धर, अम्बर गुरुङ, नारायणगोपाल, माणिकरत्न, प्रेमध्वज प्रधान, फत्तेमान, गोपाल योञ्जन, शान्ति ठटाल, अरुणा लामा, तारादेवी, दीप श्रेष्ठ, भक्तराज आचार्य, दिव्य खालिङजस्ता थुप्रै दिग्गज सर्जकका कर्णप्रिय र सदाबहार गीत संगीत स्मरण हुन्छ।

रेडियो नेपालको स्थापना (२००७) पछि नयाँ विधाका रूपमा विकसित भएको विधा हो, आधुनिक संगीत।

रेडियो नेपालको स्टुडियो। तस्बिर : युट्युब

सुरुआती वर्षहरूमा रेडियोमा प्रायः हिन्दी गीत र गजलबाटै काम चलाइन्थ्यो। श्रोताहरूले पनि त्यसबाटै तिर्सना मेट्नुपर्ने बाध्यता थियो। भारतको कलकत्ता गई रेकर्ड गराउनुपर्ने भएकाले नेपाली ग्रामोफोन रेकर्डको संख्या धेरै थिएन।

उस्ताद सेतुराम श्रेष्ठ, मित्रसेन थापामगर, मेलवादेवी गुरुङ, रत्नदास प्रकाश, उस्ताद साइँला श्रेष्ठ आदि तत्कालीन समयका चर्चित गायक/संगीतकार थिए। गायक/संगीतकारहरूले स्टुडियोमै उपस्थित भई ‘लाइभ’ प्रस्तुति दिनुपर्थ्यो।

२०१८ सालमा रत्न रेकर्डिङ संस्थानको स्थापना र २०२५ सालमा रेडियो नेपालमा अत्याधुनिक उपकरणसहितको स्टुडियो बनेपछि रेकर्डिङ सहज बन्यो। यही चरणमा हो, नेपाली गीत-संगीत उत्कर्षमा पुगेको।

२०२२ सालदेखि रेडियो नेपालले राष्ट्रिय गीत प्रतियोगिता आयोजना गर्न थाल्यो। यसले आधुनिक गीतलाई अलग्गै विधाका रूपमा औपचारिकता दिन ठूलो भूमिका खेलेको देखिन्छ।

आधुनिक संगीतको आगमनअघि नेपालमा श्रुतिपरम्परा र शास्त्रीय परम्पराबाट निरन्तरता पाएका संगीत अभ्यासमा थिए।

आधुनिक गीति क्यासेटहरू।

आधुनिक संगीत नयाँ प्रविधिमा बढेको पहुँचले ल्याएको नवीन विधा थियो। न त्यसअघिको जस्तो पूर्ण शास्त्रीय, न पूरै लोक।  रेकर्डिङ नै भारतमा गर्नुपर्ने बाध्यता हुँदा तत्कालीन संगीतमा भारतीय संगीतको प्रभाव भेटिनु अस्वाभाविक होइन। तर, त्यसबेलाका नेपाली सर्जकहरूमा आफ्ना गीत मौलिक बनाउनुपर्ने मनोवैज्ञानिक-सामाजिक दबाब पनि थियो।

गायक/संगीतकार उज्ज्वल सागर भन्छन्, “रेडियो नेपालका गीतहरूले नेपालमा हिन्दी गीत-संगीतको प्रभाव कम गर्न महत्त्वपूर्ण भूमिका खेल्यो। त्यही क्रममा नयाँ विधाका रूपमा आधुनिक संगीत स्थापितसमेत भयो। यसैलाई आधुनिक संगीतको उपलब्धि नै मान्नुपर्छ।”

आधुनिक गीतको स्रोत पूर्वीय शास्त्रीय वा लोक मात्र थिएन, भारतको रवीन्द्र संगीत र पाश्चात्य संगीतबाट समेत यो प्रभावित थियो। तर, यसको खास नेपाली विशेषता पनि थियो। रेडियो नेपालको स्थापनापछि आधुनिक संगीतले मौलिकताको बाटो पहिल्याउने प्रयत्न गरेको संगीतकार/लेखक आभासको मत छ। ‘नेपाली संगीतको धुन’ शीर्षकमा उनी लेख्छन्, ‘यो चरणका संगीतकार र गायकहरूमा भाषिक र जातीय चेतले पहिचानको प्रश्न उभ्याउन थालेको थियो। त्यसैले यतिबेलाको संगीत मौलिकतातर्फ उन्मुख हुन खोजेको पाइन्छ।’

अगमसिंह गिरीको रचनामा अम्बर गुरुङको स्वर/संगीतको ‘नौ लाख तारा उदाए’ भारतमा प्रतिबन्धित हुनु र गुरुङलाई राजा महेन्द्रले नेपाल बोलाउनु भाषिक-जातीय अन्तरसम्बन्धको एउटा उदाहरण हो।

आधुनिकताको सन्दर्भमा कवि वैरागी काइँला अम्बर गुरुङ स्मृति ग्रन्थमा लेख्छन्, ‘हामीले नेपाली कवितामा खोज्दै गरेको नयाँ बाटोलाई उनले (अम्बरले) संगीतको बाटोबाट खोज्न सके।’

आधुनिक तथा पप संगीतका सीडी तथा क्यासेट। तस्बिर : अनिल स्थापित

प्राध्यापक/समीक्षक अभि सुवेदी यही सन्दर्भमा थप्छन्, ‘अम्बर गुरुङले संगीतमा सबैभन्दा उच्च प्रयोग गरेको समय र नेपाली कविहरूले कवितामा आधुनिकताको प्रयोग गरेको समय उही थियो।’

आधुनिकताको लहर संगीतसँगै साहित्य र कलाका अन्य विधामा पनि भित्रिँदै थियो। आधुनिक संगीतका दुई केन्द्र थिए, काठमाडौँ र दार्जिलिङ। दुवै अलग भूगोलमा भइरहेको आधुनिकताको खोज कालान्तरमा एकै ठाउँमा मिसियो। अम्बरको नेपाल प्रवेशपछि उनका शिष्य र अनुज संगीतकर्मीहरू काठमाडौँ आउने लहर चल्यो। दुवैतिरका सर्जकका शिल्प र प्रयोगले संगीतको आफ्नै विशिष्ट विधाको रूप लियो।

‘गाजलु ती ठूला ठूला आँखा’, ‘यति धेरै माया दिई’ जस्ता गीतका संगीतकार दीपक जंगम भन्छन्, “हिजो संगीत साधनाको हिसाबले लिइन्थ्यो। कमाउने भनेकै नाम थियो। अहिले व्यवसाय केन्द्रमा छ। छिटो हिट हुने चाहना छ।”

त्यो गायक, संगीतकार, गीतकार  र वाद्यवादकहरू एकै ठाउँमा भेला भएर गाउने-बजाउने युग थियो। यसले एकअर्काको शिल्प र ऊर्जाको आदानप्रदान हुन्थ्यो। यस्तै प्रक्रियाबाट कैयौँ स्तरीय गीत जन्मिए।

६ दशकदेखि संगीतमा सक्रिय दीपक जंगम त्यसबेलाको जीवनशैली, आदर्श, लक्ष्य र उद्देश्य फरक भएकाले परिणाम र प्राप्ति पनि त्यहीअनुसार भएको बताउँछन्।

‘गाजलु ती ठूला ठूला आँखा’, ‘यति धेरै माया दिई’ जस्ता गीतका संगीतकार जंगम भन्छन्, “हिजो संगीत साधनाको हिसाबले लिइन्थ्यो। कमाउने भनेकै नाम थियो। अहिले व्यवसाय केन्द्रमा छ। छिटो हिट हुने चाहना छ।”

संगीतकार तथा गायक कालीप्रसाद बास्कोटा पनि अहिले संगीतमा नयाँ नयाँ प्रयोजन भित्रिएको बताउँछन्। उनका अनुसार पहिला संगीतको मुख्य उद्देश्य नै राम्रो गीत बनाउनु थियो। अहिले छोटो समयमा ब्रान्डिङ गर्ने, पैसा कमाउने र कन्सर्ट गर्नेजस्ता रहर थपिएका छन्। यसले सिर्जनाका लागि जुन समय दिइन्थ्यो, त्यो घट्दै गएको उनको भनाइ छ। अहिले संगीतलाई कन्टेन्ट क्रिएटरको आँखाबाट हेरिनु नै मुख्य समस्या देख्छन् उनी।

माथि बायाँबाट स्वरूपराज आचार्य, अन्जु पन्त, उज्ज्वल सागर, बनिका प्रधान, कालीप्रसाद बास्कोटा र मेलिना राई। तस्बिर : कलाकारहरूको फेसबुक पेज

‘सुन साइँली’, ‘लैजा रे’ जस्ता गीतका संगीतकार बास्कोटा चिन्ता पोख्छन्, “अहिले आधुनिक संगीतको पुरानो बिरासत नै संकटमा परिसकेको छ।”

पहिलाजस्तै स्तरीय सिर्जना गर्न संगीतकर्मीले साहित्य, समाज र समाज बुझेका मान्छेहरूसँग जोडिएर काम गर्नुपर्ने खाँचो देख्छन् उनी।

गायक स्वरूपराज आचार्य पनि गीतबाट साहित्य टाढा भएकाले पनि संगीतको स्तर खस्केको बताउँछन्। “हामीले भन्ने आधुनिक संगीतको खास विशेषता मेलोडी र कविताको संगम हो,” उनी भन्छन्, “तर मेलोडीप्रधान आधुनिक गीत सुन्न तन-मन स्थिर हुनुपर्छ। प्रविधिका कारण अहिले त्यो धैर्य हराउँदै छ।”

व्यक्तिगत रूपमा भने आफू पहिलेजस्तै मिहिनेत गरेर स्तरीय सिर्जनामै व्यस्त रहेको उनको दाबी छ। उनी अहिले पनि हप्तामा औसतमा पाँच वटा गीत रेकर्ड गर्छन्।

सामाजिक-राजनीतिक घटनादेखि प्रविधिका कारण संगीतका धारहरू परिवर्तन भइरहेका हुन्छन्। आचार्य भन्छन्, “आफ्नो स्तर र संगीतको उद्देश्यमा सम्झौता नगरी समयअनुसार परिमार्जन गरे मात्र कुनै पनि कलाकार वा विधा अघि बढ्छ।”

आधुनिक धारका फरक फरक पुस्तासँग काम गर्दै आएका संगीतकार जंगम पनि आफ्नो सक्रियता कम नभएको बताउँछन्, “औसतमा २०-२५ वटा सिर्जना गर्थें, त्यो अहिले पनि जारी छ।”

उनी अन्य स्रष्टाहरूले समेत हिजोका दिनमा जस्तै आधुनिक संगीतमा नयाँ नयाँ सिर्जना गरिरहेको बताउँछन्। हो पनि, वर्तमान समयमा दीप श्रेष्ठ, उदय-मनिला सोताङ, अन्जु पन्त, सत्यराज आचार्य, शिव परियार, प्रमोद खरेल, मेलिना राई, उज्ज्वल सागर, सुजन चापागाईं, मेनुका पौडेल, अस्मिता अधिकारी, रचना रिमाल, समीक्षा अधिकारी, प्रवीण बेडवालसम्म नयाँ-पुराना पुस्ताका सर्जक आधुनिक धारका सिर्जनामा संलग्न छन्।

बायाँबाट हर्क साउद, दीपक जंगम र श्रवण मुकारुङ।

तीमध्ये केही गीत चलेका पनि छन्। तर, थुप्रै गीतको स्तर कस्तो छ, मूल्यांकन गरिदिने कसले? सामाजिक सञ्जालदेखि मिडियामा चर्चा त हिट भएका सामग्रीकै हुने हो।

रेडियो नेपालको एकाधिकार तोडिएपछि विस्तारित निजी एफएम रेडियो र टेलिभिजनले २०५० र ६० को दशकसम्म कलाकारका नयाँ सिर्जनाहरू बजारमा आएको थाहा हुन्थ्यो। पप, रक, र्‍याप, दोहोरीकै बीच फत्तेमान, दीप श्रेष्ठजस्ता आधुनिक संगीतका हस्तीहरूका सिर्जना हिट हुन्थे। रामकृष्ण ढकाल, यम बराल, राजेशपायल राई, शर्मिला बर्देवा, सपनाश्री, जगदीश समाललगायत गीत दिनरात घन्किन्थे। कर्ण दास (मध्याह्न), विवेक श्रेष्ठ (कन्दरा) जस्ता ब्यान्डको पप संगीतको पृष्ठभूमिबाट आएका गायकहरूलाई समेत आधुनिक एल्बम निकाल्न उत्प्रेरित गर्ने माहोल बनेको थियो।

तर, डिजिटल माध्यमको आगमनपछि श्रोताले परम्परागत मिडियाको भर पर्नैपर्ने बाध्यता हट्यो। यही चरणमा पाइरेसीको संकट थपियो। उज्ज्वल सागर पाइरेसीभन्दा ट्र्याकमा गाउने अभ्यासलाई आधुनिक संगीतको अझ ठूलो संकट मान्छन्।

यही वर्ष काठमाडौँमा दुई पटक कन्सर्ट गरिसकेका उज्ज्वल सागर आधुनिक गीतलाई उठाउने हो भने लाइभ संगीतमा फर्किनुपर्ने आवश्यकता देख्छन्।

उनी भन्छन्, “गायकहरू नै पेन ड्राइभ बोकेर हिँड्ने, स्टेजमा लाइभ नगाएर ट्र्याकमा गाउने अभ्यासले आधुनिक धारलाई नै ठूलो क्षति पुर्‍यायो भन्ने लाग्छ।”

पछिल्लो समय संगीत क्षेत्र फेरि कन्सर्टमय हुँदै छ। धेरै एकल प्रस्तुति दिने कलाकारहरू अहिले ब्यान्डसहित स्टेजमा देखिन थालेका छन्। ‘तिमी खुसी त छौ नि भन न’ गीतबाट चर्चा कमाएका उज्ज्वल सागर पनि तिनैमध्ये एक हुन्। यही वर्ष काठमाडौँमा दुई पटक कन्सर्ट गरिसकेका उनी आधुनिक गीतलाई उठाउने हो भने लाइभ संगीतमा फर्किनुपर्ने आवश्यकता देख्छन्।

उज्ज्वल भन्छन्, “कुनै पनि राम्रा गीत लाइभमा संगीतकारसहित इम्प्रोभाइज गर्दै गाउँदा श्रोताको स्मरणमा पछिसम्म रहने सम्भावना बलियो हुन्छ।”

संगीतकार आभासको नेतृत्वमा दुई दशकदेखि चलिरहेको नेपालयको पलेँटी  यस्तै एउटा थलो हो, जसले आधुनिक धाराका नयाँ-पुराना सर्जकमार्फत लाइभ संगीतको प्रवर्द्धन गरिरहेको छ। गत कात्तिकमा पलेँटीमा ७६ वर्षको उमेरमा प्रस्तुति दिएकी गायिका ज्ञानु राणा भन्छिन्, “पहिलेका गीत राम्रो हुने एउटा मुख्य कारण त्यहाँ सबै कुरा लाइभ हुन्थ्यो। अहिलेको पुस्तामा लाइभ गाउन सक्ने क्षमताको अभाव छ।”

नेपालयको पलेँटीमा गायिका ज्ञानु राणा। तस्बिर : नेपालय

आधुनिक संगीतलाई कतिपयले सुगम संगीत पनि भन्ने चलन छ। कताकता यसले पनि पहिलेको आधुनिक संगीतको ओज बोक्न नसकेको महसुस हुन्छ। गायक आचार्य भन्छन्, “सुगमभन्दा सजिलो संगीत भन्ने अर्थ लाग्छ। तर, यसमा शास्त्रीय, लोक, ज्याज, ब्लुज सबैको ज्ञान चाहिन्छ। त्यसैले आधुनिक संगीत नै बढी उपयुक्त हुन्छ।”

फेसन र संगीतको चक्र उस्तै उस्तै हुन्छ। नयाँ बसिरहँदैन, पुरानो फर्कीफर्की आउँछ। पहिलेको रिमिक्स होस् या अहिलेको रेट्रो, संगीतले पुरानो समयसँगको नाता कहिल्यै तोड्दैन।

त्यसो भए हिजो र आजको आधुनिक संगीत उस्तै हो कि फरक?

समयले संगीतलाई पुन:परिभाषित गरिरहन्छ। आधुनिक संगीतलाई नयाँ सन्दर्भमा परिभाषित गर्ने बेला भइसक्यो।

आचार्य भन्छन्, “त्यो हिजोको पुस्ताको आधुनिक संगीत थियो। आजको पुस्ताले जे नयाँ गरिरहेको छ, आजका लागि त्यही आधुनिक हो।”

उनी अहिलेको संगीतकर्मीमा पनि हिजोको पुस्ताले जसरी नै अर्थपूर्ण र कालजयी गीत-संगीत सिर्जना गर्ने अभिभारा रहेको बताउँछन्।

संगीतकार बास्कोटा पुरानो आधुनिक धारको संगीतको परिभाषा फेरिँदै गएको मत राख्छन्। “समयले संगीतलाई पुन:परिभाषित गरिरहन्छ। आधुनिक संगीतलाई नयाँ सन्दर्भमा परिभाषित गर्ने बेला भइसक्यो,” उनी थप्छन्, “हिजोको पुस्ताका लागि संगीतका स्रोत सीमित थिए। आजको पुस्ताले संसारभरिका फरक विधाको एक्सपोजर पाएको छ। उनीहरूले ती कुरा आफ्नो गीत-संगीतमा एप्लाई गरिरहेका छन्।”

संगीतमा बाह्य प्रभाव स्वाभाविक भए पनि अहिलेको पुस्ताले नेपाली संगीत परम्पराबाट टाढिन नहुने गीतकार मुकारुङको मत छ। भन्छन्, “अहिलेको संगीतमा देखिएको पुस्तान्तरणको समस्यालाई चिर्न नयाँ पुस्ता नै सक्रिय हुनुपर्छ।”

नयाँ पुस्ताका गायक/संगीतकारहरूसँग सहकार्य गरेका हर्क साउदको विचारमा आधुनिक संगीत परम्पराको एउटा विशेषता भनेको यसले गीत लेखनलाई संगीत विधाका रूपमा अलग स्थान दियो। उनी संगीतको साहित्यिक पक्ष जोगाउन नयाँ पुस्ताले पनि निरन्तरता दिनुपर्नेमा जोड दिन्छन्। “अघिल्लो पुस्ताले गतिला, गहकिला र विम्बात्मक शब्द, धुन र गायनबाट अब्बल सिर्जना गरेको हो,” उनी भन्छन्, “त्यसैले ती सिर्जना अहिलेको पुस्ताले पनि सुनिरहेको हुन्छ।”

तर, सायद नयाँ समयका गीतको वर्गीकरणसमेत गर्न नसकिने अवस्था रहेको टिप्पणी गर्छन्। उनी भन्छन्, “गीतमा प्रयोग हुने जनबोलीका शब्द छन्, तर तिनको प्रयोग फरक ढंगबाट गरिन्छ।”

आधुनिक संगीत श्वास फेरिरहेको छ, तर धड्कन अलि मधुरो सुनिन्छ। किनकि, प्रचारप्रसारमा आउने गीतहरू नै हाम्रो मोबाइलका स्क्रिनमा देखिन्छन्।

‘तीनपाते’, ‘ऊनको स्वीटर’ जस्ता मन छुने गीत रचेका गीतकार साउद अहिलेको समयमा पनि अर्थपूर्ण गीतहरू बनिरहेको बताउँछन्। तर, ती गीतहरू एकदमै कम भएकाले कुहिरोका कागजस्तै भए, जुन रिल्स, युट्युब सर्टस् र टिकटकमा देखिएन भने श्रोतासम्म नपुग्न पनि सक्छ।

दामी म्युजिक एप। तस्बिर : दामी एपबाट

अब प्रश्न उब्जिन्छ– सुन्दै नसुनेको सिर्जनाको मूल्यांकन कसरी गर्ने? आधुनिक संगीतको अवस्था यस्तै छ। श्वास फेरिरहेको छ, तर धड्कन अलि मधुरो सुनिन्छ। किनकि, प्रचारप्रसारमा आउने गीतहरू नै हाम्रो मोबाइलका स्क्रिनमा देखिन्छन्।

हिजो दीप श्रेष्ठले भनेका थिए– हाम्रा गीतहरू अलि कम बज्न थालेका छन्।

आज स्वरूपराज र उज्ज्वल सागरहरू भनिरहेका छन्– हाम्रा गीतहरू कम देखिन/सुनिन थालेका छन्।

आशा गरौँ, आधुनिक संगीतको यो संक्रमण ढिलो चाँडो हट्नेछ। भाइरल संगीतको भिडमा मेलोडी र साहित्यसहितका गीतहरू थिग्रिएर आउनेछन्। र, ती गीत-संगीतले भविष्यको पुस्तालाई समेत उत्प्रेरित गर्नेछन्।