१६ फाल्गुन २०८२
अ+
अ-

काठमाडौंनेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी रूपान्तरणको अभियानले देशभर सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन्।

काठमाडौं–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका उनले शनिबार भिडियो सन्देश जारी गर्दै देशका विभिन्न स्थानबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले आफूलाई थप ऊर्जा मिलेको उल्लेख गरे।

उनका अनुसार देशभरका नेता–कार्यकर्ता र मतदाताहरूले टेलिफोनमार्फत पार्टीलाई रूपान्तरणतर्फ अघि बढाएको भन्दै प्रशंसा गरेका छन् र अब देश रूपान्तरणको अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउन आग्रह गरेका छन्। “देशभरबाट प्राप्त साथ र सुझावले मलाई अझ जिम्मेवार र उत्साही बनाएको छ,” उनले भने।

महामन्त्री पौडेलले पार्टीका नेता–कार्यकर्तालाई मतदातामाझ सक्रिय रूपमा पुग्न आह्वान गर्दै जनताका अपेक्षा र सुझावलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। उनले राजनीतिमा देखिएका तमाम विकृति र विसंगतिलाई हटाउँदै नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

काठमाडौं–५ का मतदाताबाट प्राप्त स्नेह र समर्थनप्रति आभार व्यक्त गर्दै उनले आफू अत्यन्त उत्साहित रहेको बताएका छन्। “आदरणीय मतदाताज्यूहरूले देखाउनुभएको विश्वास र स्नेहले मलाई थप ऊर्जा दिएको छ,” उनले सन्देशमा उल्लेख गरेका छन्।