१६ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौन अवधिले स्वच्छ र स्वतन्त्र वातावरणमा विवकेपूर्ण ढङ्गले मतदान गर्न मतदातालाई अवसर सिर्जना गर्ने भएकाले त्यसको पूर्णपालनाका लागि आग्रह गरेका छन्।

उनले निर्वाचन व्यवस्थापन गर्ने निकायलाई सबै किसिमको बन्दोबस्त गरेर शान्तिसुरक्षा र सुव्यवस्थासहित भयरहित वातावरणमा निर्वाचन गर्नका लागि वातावरण तय गर्न मौन अवधिको व्यवस्था गरिएको स्पष्ट पारे।

यही २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि १८ फागुनको मध्यराति १२ बजेदेखि लागु हुँदै छ। मौन अवधि र यसको महत्त्वबारे पूर्वप्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “निर्वाचन प्रचारप्रसार अभियान क्रममा मतदातालाई विभिन्न किसिमका तनाव, दबाब र आश्वासन निरन्तर प्राप्त भइरन्छ। त्यस्तो अवस्थामा सबैको कुरालाई मन्थन गरेर उपयुक्त व्यक्तिलाई मतदान गर्नका निम्ति फ्रेस भएर जान सक्ने अवस्था सिर्जना गर्न मौन अवधिको परिकल्पना गरिएको हो।”

आ-आफ्नो दृष्टिकोण, योजना र कार्यक्रम लिएर मतदातासम्म पुगेका उम्मेदवार र राजनीतिक दललाई आफ्नो प्रचारप्रसारको ठन्डा दिमागले समीक्षा गरेर आनन्दले मतदान गर्न जाने र मतपरिणाम कुर्ने समयका रूपमा लिइने गरिएको छ।

मौन अवधिको समय निर्वाचन व्यवस्थापकीय हिसाबले पनि अत्यन्त महत्त्वपूर्ण हुने पूर्वप्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ छ। “मौन अवधिले निर्वाचन गराउने जनशक्ति र सुरक्षा फौजलाई सबैखाले कामबाट मुक्त गरेर शान्तपूर्ण वातावरणमा निर्वाचनको व्यवस्थापन गर्ने अवसर प्रदान गर्छ‚” उनले भने‚ “यस अवधिमा मतदान केन्द्र बनाउने, मतदाता लाइनको व्यवस्थापन गर्ने, शान्ति सुरक्षाको अवस्था मूल्याङ्कन गर्ने गरिन्छ।”

विश्वका कतिपय मुलुकमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्न चलन छ।

पूर्वप्रमुख आयुक्त थपलियाले भयरहित वातावरणमा प्रभावकारी ढङ्गले निर्वाचन सम्पन्न गर्ने र मतदातालाई सुसूचित भई सचेततापूर्वक ‘योग्य र रोजेको’ उम्मेदवारलाई मतदानका निम्ति निर्णयमा पुग्न प्रदान गरिएको समयका रूपमा लिइने बताउँछन्।

मौन अवधिमा मत माग्न, पोस्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी हिँड्डुल गर्न, कुनै किसिमको भेला, भाषण र छलफल गर्न हुँदैन। निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइँदैन। सामान्यतः निर्वाचन प्रचारको कार्य निषेध गरिएको अवधिलाई मौन अवधि भनिन्छ। मतदानका लागि शान्त वातावरण कायम गराउने उद्देश्यले मतदानका दिनभन्दा अघि निश्चित समयावधि तोकी मौन अवधि घोषणा गरिन्छ।

मतदान हुने दिन सुरु हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि सुरु भई मतदान सम्पन्न नहुन्जेलसम्म कायम रहन्छ। उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले मौन अवधिमा विशेष आचारण पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटरवरिपरि राखिएका आ-आफ्ना निर्वाचन चिह्न तथा प्रचार सामग्री हटाएको हुनुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ। उक्त अवधिमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन। यस्तै, उम्मेदवार वा राजनीतिक दलको प्रचार हुनेगरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन।

आउँदो बिहीबार हुने निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दै छन्। प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

यस्तै, सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ।

यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन्। यसैगरी, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। १४३ अस्थायी मतदानस्थल तय गरिएको छ। निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिइएका छन्।

निर्वाचनमा दुई लाख १५ हजार कर्मचारी खटिँदै छन्। आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरिसकेको छ। यसपटकको निर्वाचनमा चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा खटिएका छन्।