१६ फाल्गुन २०८२
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा।
अ+
अ-

सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश चलाउने जिम्मेवारी आफ्नो पार्टीले लिने बताएका छन्। यो अवधिमा बिनादुर्घटना तीव्र गतिमा देश अगाडि बढाउने पनि उनको दाबी छ।

सर्लाहीको ईश्वरपुर नगरपालिकामा शनिबार आयोजित क्षेत्र नम्बर १ स्तरीय चुनावी सभामा उनले अब बन्ने कांग्रेस नेतृत्वको सरकारले प्रत्येक महिनाको १ गते देशवासीलाई सरकारले गरेका कामको विवरण सार्वजनिक गर्ने व्यवस्था गरिने जानकारी दिए।

“वैशाख महिनादेखि सरकारले मासिक रूपमा आफ्नो कार्यसम्पादनबारे जानकारी दिनेछ र त्यसको समीक्षा पनि नियमित गरिनेछ‚” सभापति थापाले भने। यसले सरकारको कामप्रति पारदर्शिता बढ्नुका साथै जनतालाई प्रत्यक्ष जानकारी पुग्ने र कामको गतिसमेत तीव्र हुने उनको विश्वास छ।

थापाले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नेपाललाई स्थायित्व, विकास र सुशासनको दिशामा अगाडि बढाउने दाबीसमेत गरे।