व्यक्तिवृत्त
कर्णाली र सुदूरपश्चिमका नदीलाई पर्यटनसँग जोड्ने अभियानमा १५ वर्षदेखि जुटिरहेका देवराज जैसी
२०५९ सालमा सुर्खेतको बाबियाचौरमा शनिबार लाग्ने हाटबजार घुम्न गएका थिए, भर्खर युवावयमा रहेका देवराज जैसी। गोरा कायाका दुई विदेशी पुरुष घुम्दै त्यहीँ आइपुगे।
माओवादी द्वन्द्व उत्कर्षमा रहेको समय थियो। ‘साम्राज्यवादी’ भन्दै अमेरिकालाई दुत्कारिरहेको थियो विद्रोही माओवादीले।
त्यो हाटबजारमा माओवादी कार्यकर्ता पनि रहेछन्। गोरा विदेशी देख्नासाथ अमेरिकी ठान्ने नेपाली समाजमा माओवादी कार्यकर्ता त्यस मानसिकताबाट अछुतो रहने कुरै थिएन। उनीहरूले ती विदेशीहरूलाई अमेरिकीको आशंकासहित विभिन्न प्रश्न सोधेर हैरान पारे। संवादका क्रममा माओवादी कार्यकर्ताको कुरा विदेशीले नबुझ्ने, विदेशीका कुरा माओवादी कार्यकर्ताले।
यो दृश्य बजार घुमिरहेका तन्नेरी देवराजले देखे। सहजीकरणका लागि उनीहरू भएको ठाउँमा पुगेर दोभासेको काम गरे। यसपछि मात्र माओवादी कार्यकर्ताले पत्तो पाए, उनीहरूले अमेरिकी ठानेका विदेशीहरू त कर्णाली घुम्न आएका फ्रान्सका नागरिक रहेछन्।
असहज अवस्थामा आफूलाई सहयोग गर्ने युवाको सरलता देखेर विदेशीहरू प्रभावित भए। उनीहरू करिब एक महिना कर्णाली घुम्दा १० दिन त देवराजकै घरमा बसे। उनीहरू कहिले सुर्खेतको जंगलमा रमाउँथे, कहिले भेरी नदीमा डुंगा सयर गर्थे।
उनीहरूको संगतबाट देवराजले दुई कुरा बुझ्ने मौका पाए। पहिलो, फ्रेन्च भाषाको व्यापकता। दोस्रो, प्रकृतिसँग जोडिएको पर्यटन।
यी दुवै कुरा पछिल्लो समय उनको जीवनका अभिन्न अंग बनेका छन्।

देवराज जैसी। तस्बिर : बिक्रम राई
कर्णालीको पर्यटनमा देवराज जैसी पर्यायजस्तै बनेका छन्। उनी चिसापानीदेखि टीकापुरसम्म २६ किलोमिटरमा र्याफ्टिङको सुरुआत गर्ने पहिलो व्यवसायी हुन्।
नेपालका प्रायः नदीहरू पश्चिम केन्द्रित छन्। यहाँ र्याफ्टिङ र एङ्लिङ (माछा समात्ने खेल)को प्रचुर सम्भावना छ। सुदूरपश्चिम र कर्णाली क्षेत्रका नदीमा खेर गइरहेको यही सम्भावनालाई विश्व बजारसँग जोड्ने काममा देवराज डेढ दशकयता तल्लीन छन्। उनको प्रयासलाई संघीय र प्रदेश सरकारले राम्रोसँग बुझ्न नसक्दा एक्लै डटिरहेका छन्।
अहिले उनी विश्वका ३० नामुद एङ्लर (माछा समात्ने खेलाडी)लाई सेती-कर्णालीमा भित्र्याएर अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने अभियानमा छन्। आउँदो चैतको ८ देखि २० गतेसम्म सेती-कर्णाली अन्तर्राष्ट्रिय महसिर एङ्लिङ च्यालेन्ज प्रतियोगिता हुँदै छ। यो प्रतियोगिता नेपालमा पहिलो पल्ट आयोजना हुन लागेको हो। प्रतियोगिताको सफलतापछि फिसिङका लागि नेपाल उपयुक्त गन्तव्य भएको विश्वव्यापी सन्देश जाने पक्का छ।
२०६२ सालमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि देवराज डेढ लाख रुपैयाँ बोकेर थप अध्ययनका लागि काठमाडौँ प्रवेश गरेका थिए। उनलाई फ्रेन्च भाषाको चस्का गाउँमै हुँदा ती फ्रेन्चहरूसँगको भेटपछि लागिसकेको थियो। त्यसैले काठमाडौँ आएपछि फ्रान्सेली भाषा-संस्कृतिको केन्द्र ‘आल्याँस फ्राँसेज’ मा भर्ना भए। ६ महिना फ्रेन्च भाषा सिके।
यसपछि उनी ‘रिभर टुरिज्म’ तिर ढल्किए। यसले उनलाई देश-विदेशमा त चिनाएकै छ, आत्मसन्तुष्टि पनि मिलिरहेको छ। उनी युरोप र त्यसमा पनि खासगरी बेलायत तथा चीन र भारत पुगेर कर्णाली प्रदेशको जल पर्यटनबारे प्रचारप्रसार गर्छन्।
त्यसैबीच उनलाई दोभासे बन्ने रहर लाग्यो। नेपाल भ्रमणमा आएका फ्रेन्चहरूलाई घुमाउन कहिलेकाहीँ स्वयम्भू पुग्थे।
काठमाडौँमा बसेर पढ्दै गर्दा उनलाई खर्चको चाप पर्यो। खर्च जुटाउन त्रिपुरेश्वरस्थित एउटा बेकरीमा काम गरे। त्यहीँ उनले केकदेखि ब्रेडसम्म बनाउन सिके।
भनिन्छ नि, जीवन सधैँ सीधा रेखामा हिँड्दैन। उनको सन्दर्भमा पनि त्यस्तै भयो। दसैँ मनाउन घर फर्किएका थिए। त्यसै बेला कैलालीको मोहन्याल गाउँपालिका-३ मा पर्ने एउटा विद्यालयलाई अंग्रेजी शिक्षकको आवश्यकता परेको खबर पाए। उनको अंग्रेजी भाषा राम्रै थियो। काठमाडौँ फर्किनुको साटो शिक्षक बन्न घरबाट ६ घण्टा टाढा रहेको मोहन्याल गाउँपालिका पुगे।
तीन वर्ष शिक्षण पेसामा आबद्ध रहँदा उनले जीवनलाई नयाँ ढंगले बुझ्ने प्रयास गरे। स्वर्णिम नेपाल नामको साप्ताहिक पत्रिका निकाले। एफएम रेडियोमा पनि हात हाले। तर, यी सबै काम गर्दै जाँदा कतै पनि सन्तुष्टि मिलेन।
यसपछि उनी ‘रिभर टुरिज्म’ तिर ढल्किए। यसले उनलाई देश-विदेशमा त चिनाएकै छ, आत्मसन्तुष्टि पनि मिलिरहेको छ। उनी युरोप र त्यसमा पनि खासगरी बेलायत तथा चीन र भारत पुगेर कर्णाली प्रदेशको जल पर्यटनबारे प्रचारप्रसार गर्छन्। आफू प्रकृतिसँग जोडिएर काम गर्न पुग्नुमा तिनै फ्रेन्चहरूलाई जस दिन्छन् उनी। भन्छन्, “रेनु रासेल्स र जेरोल्ड च्यो मेरो घरमा नबस्नुभएको भए मैले प्रकृतिको महत्त्व थाहा पाउने नै थिइनँ। उहाँहरूले नै मेरो युवा मस्तिष्कमा पर्यटनको प्रभाव पारिदिनुभएको हो।”

विदेशी एङ्लरसँग जैसी। तस्बिर स्रोत : जैसीको फेसबुक पेज
२०६६ सालमा उनले पत्रिकाको वार्षिक ग्राहकबाट अग्रिम रूपमा संकलित ६ लाख रुपैयाँ खर्चेर १० सेट र्याफ्टिङ बोर्ड किनेका थिए। कर्णालीवासीलाई ‘रिभर टुरिज्म’ मा बानी पार्न सुरुमा निःशुल्क टिकटको व्यवस्था पनि मिलाए।
चिसापानीदेखि टीकापुरसम्मको २६ किलोमिटर दूरीमा र्याफ्टिङको सुरुआत गरे। तर, त्यो उनले खेलेको ‘जुवा’ थियो। जोखिम थियो।
ग्राहकलाई आकर्षित गर्न उनले सुरुसुरुमा अस्ट्रिचको मासु र बेलको सर्बत निःशुल्क बाँडे। पत्रपत्रिकामा फोटो छापे। प्लास्टिकको भाँडोमा तीन घण्टा पानीमा बग्नुपर्ने कुराले मानिसहरू डराए। डुब्ने डरले चढ्नै मानेनन्।
र्याफ्टिङको योजना सफल नहुने देखेपछि उनी टीकापुरमा केराखेती गरेर बसेका कालु हमाललाई गुहार्न पुगे। त्यतिबेला हमालको केरा फार्मले राम्रो बजार लिइसकेको थियो। त्यहाँ अन्यत्रबाट पनि मानिसहरू केराबाट बनेका विभिन्न परिकार चाख्न आउँथे।
उनले हमालसँग प्रस्ताव राखे, ‘तपाईंका स्टाफलाई र्याफ्टिङबाट नदी तार्न कुनै पैसा लाग्दैन, तर तपाईंकोमा खान आउने ग्राहकले ओहोरदोहोर गरेको एक बोर्डको ५० रुपैयाँ तिर्नुपर्छ।’
काठमाडौँका छिमेकी जिल्लाहरूमा धमाधम जलविद्युत् परियोजनाहरू बनिरहँदा नदीनाला प्राकृतिक स्वरूपमा बग्न सकेका छैनन्। यस स्थितिमा र्याफ्टिङका लागि सुदूरपश्चिम र कर्णालीका नदीहरू झनै महत्त्वपूर्ण बन्दै गएका छन्। त्यसमा एङ्लिङ पनि जोडिन लागेपछि त्यस क्षेत्रको जल पर्यटन अझ चम्किने बाटोमा छ।
हमाल सहयोगी मनका थिए। उनलाई पर्यटनको पनि राम्रो ज्ञान थियो। आफ्नै गाउँघरको युवाले गरेको प्रयासदेखि प्रभावित भएर उनले देवराजको प्रस्तावमा सहमति जनाए।
त्यसपछि देवराजको दिन फिर्यो। “कालु हमालको साथ पाएपछि मेरो त भाग्य नै चम्कियो। एक वर्षभित्र मैले सबै ऋण चुक्ता गरेँ,” यसै साता काठमाडौँमा भेटिएका उनी ती दिन सम्झिएर रोमाञ्चित भए।
नेपाली समाजमा हरेक व्यक्ति धनी बन्न चाहन्छन्, तर अरूले उन्नति-प्रगति गरेको कसैलाई पच्दैन। टीकापुरमा र्याफ्टिङको व्यवसाय केही फस्टाएपछि देवराजले पनि त्यस्तै भोग्नुपर्यो। उनको व्यवसायले गति लिएको त्यो देखेपछि टीकापुर नगरपालिकाको तत्कालीन कर्मचारीतन्त्रले उनलाई महिनाको एक लाख रुपैयाँ दस्तुर बुझाउनुपर्ने नियम लगायो। जबकि, मासिक त्यति रकम उनको आम्दानी नै हुँदैनथ्यो।
माओवादी विद्रोहका कारण स्थानीय निकायको चुनाव हुन नसकेको त्यस बेला कर्मचारीले नै स्थानीय निकाय चलाउँथे। उनीसँग १२ महिनाको एकमुस्ट १२ लाख रुपैयाँ मागिएको थियो। त्यो दिन नसक्ने भएपछि उनले एक वर्षभित्रै टीकापुर छोड्नुपर्यो। “त्यो समय त सम्झिन पनि मन लाग्दैन। हरेक साता चिठी पठाएर हैरान पार्थे,” उनी भन्छन्, “महिनाको एक लाख रुपैयाँ तिर्ने मेरो कमाइ नभएकाले दिन सक्ने कुरै भएन, कर्मचारीले हत्तु बनाएपछि त्यो ठाउँ नै छोड्नुपर्यो।”

देवराज जैसी। तस्बिर : बिक्रम राई
ठाउँ छाडे पनि उनले हिम्मत छाडेनन्। टीकापुर छोडेर उनी चिसापानी पुगे। कर्णाली र्याफ्टिङ एन्ड एड्भेन्चर प्रालि दर्ता गराए। यसपछि चिसापानीमा बोटिङ चलाए। उनले त्यहाँ पनि आफ्नो कामको प्रचारप्रसारका लागि बट्टाई र लोकल कुखुराको मासु खान पाइने योजना ल्याए। हजार रुपैयाँमा जुस र मासु खान पाइने, टिसर्टदेखि रेडियोमा लाइभ बोल्न पाइने भएपछि स्थानीयको आकर्षण देखिन थाल्यो। प्रचार फैलिँदै जाँदा नजिकैका जिल्लाहरूबाट पनि ग्राहकको संख्या बढ्न थाल्यो।
बिस्तारै उनले आफ्नो व्यवसाय भेरी, कर्णाली, राप्तीदेखि सेतीसम्म फैलाए। व्यावसायिक सुझबुझ र कामप्रतिको लगनका कारण कुनै बेला दुःखले एउटा र्याफ्टिङ बोर्डबाट सुरु गरेको उनको व्यवसाय अहिले २८ वटा बोर्डमा फैलिइसकेको छ। उनले ‘रिभर टुरिज्म’ का लागि आवश्यक पर्ने लाइफगार्डदेखि अन्य जनशक्ति पनि तयार पारिसकेका छन्। यस्तो जनशक्तिको युरोपदेखि खाडी मुलुकसम्म उच्च माग छ।
जल पर्यटनमा सुदूर र कर्णालीका सान रहेका उनीसँग युरोपको पर्यटनलाई कर्णालीसँग जोड्ने योजना छ। तर, उनको योजना सुन्ने फुर्सद न संघसँग छ, न त प्रदेश सरकारसँगै।
काठमाडौँका छिमेकी जिल्लाहरूमा धमाधम जलविद्युत् परियोजनाहरू बनिरहँदा नदीनाला प्राकृतिक स्वरूपमा बग्न सकेका छैनन्। यस स्थितिमा र्याफ्टिङका लागि सुदूरपश्चिम र कर्णालीका नदीहरू झनै महत्त्वपूर्ण बन्दै गएका छन्। त्यसमा एङ्लिङ पनि जोडिन लागेपछि त्यस क्षेत्रको जल पर्यटन अझ चम्किने बाटोमा छ।
सेती-कर्णाली अन्तर्राष्ट्रिय महसिर एङ्लिङ च्यालेन्ज प्रतियोगितामा युरोप र एसियाका विकसित देशहरूमा एङ्लरहरू सहभागी हुनेछन्। खेलाडीहरूलाई माछा समात्ने औजार बनाउने कम्पनीहरूले नै प्रायोजन गर्ने गर्छन्। देवराज भन्छन्, “हाम्रो देशमा गोल्डेन महसिरजस्तो बहुमूल्य माछा भेटिन्छ। यो माछा पाकिस्तान, तिब्बत, भुटान, भारत र अलिअलि बाङ्लादेशमा मात्र पाइन्छ।”
जल पर्यटनमा सुदूर र कर्णालीका सान रहेका उनीसँग युरोपको पर्यटनलाई कर्णालीसँग जोड्ने योजना छ। तर, उनको योजना सुन्ने फुर्सद न संघसँग छ, न त प्रदेश सरकारसँगै। सरकारको चासोमा नपर्दा कर्णाली र सुदूरपश्चिमका नदीहरूमा रहेको सम्भावना खेर गइरहेको छ र यसबाट आर्जन गर्न सकिने आर्थिक लाभ गुमिरहेको छ।