दोहा। कतारमा इरानबाट प्रक्षेपण गरिएका मिसाइलका टुक्रा खस्दा आठ जना घाइते भएका छन् ।
इरानबाट प्रक्षेपण गरिएका ६५ वटा ब्यालिस्टिक मिसाइल र १२ वटा ड्रोन आक्रमण भएको कतारले जनाएको छ। तीमध्ये ६३ वटा मिसाइल र ११ वटा ड्रोन लक्ष्यमा पुग्नुअघि नै खसालिएको कतारले जनाएको छ।
कतारको गृह मन्त्रालयका जनसम्पर्क विभागका निर्देशक मेजर जनरल अब्दुल्लाह अल-मुफ्ताहले देशका विभिन्न भागमा खसेका भग्नावशेषसम्बन्धी ११४ वटा उजुरी प्राप्त भएको र सुरक्षाकर्मीहरूले ती सबैमा तत्काल प्रतिक्रिया दिएको जानकारी दिए। उनले मिसाइलका टुक्रा खस्दा आठ जना घाइते भएको पुष्टि गरे, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको उनको भनाई छ।
परराष्ट्र मन्त्रालयका सञ्चार तथा सूचना विभागका निर्देशक इब्राहिम अल–हाश्मीले कतारमाथि भएको इरानी आक्रमणप्रति कडा आपत्ति जनाउँदै यसलाई देशको राष्ट्रिय सार्वभौमिकताको “स्पष्ट उल्लङ्घन” भएको टिप्पणी गरे।
उनले कतारी भूभागलाई पुनः लक्षित गर्नुले दुवै देशबीच आपसी समझदारी र द्विपक्षीय सम्बन्धको आधारलाई कमजोर बनाएको बताए।