हुम्ला। हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको छ।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको भृकुटी आधारभूत विद्यालय जाङ, सुनखानी आधारभूत विद्यालय हल्जी, हिमशिखर आधारभूत विद्यालय तील सोही गाउँपालिका–४ को हिमालय आधारभूत विद्यालय चाला मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिए।
उनका अनुसार यी चारवटै मतदान केन्द्रमा हिमपातले यातायात सेवा अवरुद्ध भएका कारण चारवटा मतदान केन्द्र गरी २० कर्मचारी, नेपाली सेना, निर्वाचन प्रहरी, नेपाल प्रहरीसहितका सुरक्षाकर्मी ८० जना गरी १०२ कर्मचारी र मतपत्रलगायतका निर्वाचन सामग्री आज र भोलि गरी दुई दिनमा हेलिकप्टरबाटै ओसार्ने बताए।
निर्वाचनका लागि ती मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, मतपत्रलगायत अन्य मतदान सामग्री हेलिकप्टरबाट ढुवानी गर्न निर्वाचन आयोगलाई गरिएको अनुरोध आयोगले सदर गरेको बताए।
उनका अनुसार लिमी जाने दुई नाका नारा र न्यालु लेकको सडकमा हिउँ जमेका कारण बन्द भएकाले आयोगले हेलिकप्टर प्रयोग गर्न लागेको हो।
त्यसैगरी, चाला जाने बाटोमा पनि हिउँ जमेर घोडेटो बाटो अवरुद्ध भएकाले सो मतदान केन्द्रमा हेलिकप्टरको व्यवस्था गर्न लागिएको हो। ती मतदान केन्द्रहरू भौगोलिक कारणले जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील स्थलका रूपमा रहेको औँल्याएको थियो।
लिमीको सुनखानी प्रावि मतदान केन्द्र हल्जीमा २९३, भृकुटी प्रावि मतदान केन्द्र जाङमा २४७, हिमशिखर प्रावि तीलमा १३२ र हिमालय प्रावि चालामा १५९ मतदाता छन्।
हाल यीमध्ये अधिकांश मतदाता जिल्ला बाहिर र चीनको ताग्लाकोटमा रहेकाले उनीहरूलाई लिमी लैजान सडक खुलाउने प्रयास सुरु गरिएको छ।