काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

१७ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। इजरायली वायुसेनाले शनिबार राति इरानमाथि अहिलेसम्मकै ठूलो हवाई आक्रमण गरेको छ।

इजरायली रक्षा बलका अनुसार २०० भन्दा बढी लडाकु विमान प्रयोग गरी इरानका करिब ५०० सैन्य लक्ष्यमा प्रहार गरिएको हो।

इजरायली रक्षा बलले सार्वजनिक गरेको भिडियो फुटेजअनुसार आक्रमण दुई चरणमा गरिएको थियो। पहिलो चरणमा इजरायली विमानहरूले तेहरान वरपरका सैन्य संरचनामा रहेका इरानका राडार प्रणाली र वायु रक्षा संयन्त्रहरूलाई निशाना बनाएका थिए । दोस्रो चरणमा इजरायली वायुसेना ले इरानको ब्यालिस्टिक क्षेप्यास्त्र प्रणालीमाथि आक्रमण गरेको बताइएको छ।

उत्तर–पश्चिमी इरानको तब्रिज क्षेत्रमा रहेको एक प्रमुख सैन्य स्थल पनि आक्रमणको निशानामा परेको छ। उक्त स्थलबाट इरानले यसअघि इजरायतर्फ दर्जनौँ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको इजरायली रक्षा बलको भनाइ छ।

इरानको कोम क्षेत्रमा रहेको एक क्षेप्यास्त्र प्रक्षेपण स्थल ध्वस्त पारिएको इजरायली रक्षा बलले जनाएको छ। सो स्थलमा सयौँ किलो विस्फोटक पदार्थ रहेको र त्यसको नष्टिकरणले इजरायतर्फ हुन सक्ने दर्जनौँ क्षेप्यास्त्र प्रहार रोकिएको दाबी गरिएको छ।

इजरायली रक्षा बलले इरानमाथि पुनः हवाई वर्चस्व कायम गर्न प्रयास भइरहेको पनि जनाएको छ। यसअन्तर्गत ड्रोन तथा अन्य हवाई साधन प्रयोग गरी सम्भावित प्रक्षेपण स्थलहरूको निगरानी गर्दै क्षेप्यास्त्र टोली सक्रिय हुनुअघि नै निष्क्रिय पार्ने रणनीति अपनाइएको बताइएको छ।