काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केही तत्वबाट सुनियोजित ढंगले फैलाइएको भ्रम, हल्ला र अफवाहको षड्यन्त्रपूर्ण जालदेखि सचेत रहन आम मतदातालाई सार्वजनिक अपिल गरेका छन्।
सप्तरी निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका अध्यक्ष यादवले चुनाव प्रचारको अन्तिम दिन सोमबार अपिल जारी गर्दै निर्णायक क्षणमा जनताको मत कमजोर पार्न अनेक शक्ति सक्रिय रहेकाले सचेत मतदातालाई भ्रमित नहुन आग्रह गरेका छन्।
अध्यक्ष यादवले भने, “क्षणिक प्रलोभन र अफवाहको लहरमा नबग्नुहोस्। आफ्नो त्याग, आफ्नो इतिहास र आफ्नो स्वाभिमान सम्झनुहोस्। अधिकारको रक्षा गर्ने निर्णय लिनुहोस्। सचेत मत, बलियो मधेस, सुरक्षित भविष्य, यही हाम्रो साझा संकल्प हो।”
मधेसको अधिकार, पहिचान र स्वाभिमान कुनै दान नभई बलिदानको उपलब्धि भएको अध्यक्ष यादवको भनाइ थियो। “यो अधिकार कसैले उपहार दिएको होइन, मधेसले सडकमा र संसद्मा लडेर हासिल गरेको हो,” उनले भने। संघीयता, स्वायत्तता र लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहन आग्रह गर्दै अध्यक्ष यादवले मतदान केवल प्रतिनिधि चयन मात्र नभई मधेसको भविष्यको दिशानिर्देश भएको उल्लेख गरे।