टी–२० विश्वकप सेमिफाइनल समीकरण
बुधबार दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्यान्ड र बिहीबार भारतविरुद्ध इङ्ल्यान्ड आमनेसामने
१७ फागुन, आइतबार भारतले वेस्ट इन्डिजविरुद्ध पाँच विकेटको जित निकाल्दै टी-२० विश्वकपको सेमिफाइनल यात्रा तय गर्यो। ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिकासँगको हारपछि टोलीमा फर्काइएका सन्जु सामसनले अविजित ९७ रनको परिपक्व इनिङ्स खेल्दै आफूलाई पुनःप्रमाणित गरेपछि भारतले चार बल बाँकी छँदै पाँच विकेटले जित हासिल गरेको थियो।
मुम्बईमा अब हुने सेमिफाइनलमा भारतको सामना इङ्ल्यान्डसँग हुनेछ। रोचक चाहिँ के भने, विश्वकपका पछिल्ला सन् २०२२ र २०२४ संस्करणमा यी दुईमध्ये जसले सेमिफाइनल जितेका छन्, उसैले उपाधि उचालेका छन्। सन् २०२२ मा अस्ट्रेलियाको एडेलेडमा इङ्ल्यान्ड विजयी भएको थियो भने दुई वर्षअघि गुएनामा इङ्ल्यान्ड पराजित भएको थियो।
तर, प्रतियोगिताको बहस यतिमै सीमित छैन। सेमिफाइनल खेल्ने स्थल र तालिका अन्तिम समयसम्म अनिश्चित रहँदा केही टोलीले यात्राको अन्योल झेल्नुपर्यो। सुपर ८ चरणका खेल प्रतियोगिताको सहआयोजक राष्ट्र श्रीलंकामा खेलेको इङ्ल्यान्डले अर्को समूहको नतिजा नआउँदासम्म कोलम्बोमै रोकिनुपर्यो। १६ फागुनमा पाकिस्तानले श्रीलंकालाई फराकिलो अन्तरले हराए समीकरण बदलिने थियो। तर, पाँच रनले मात्र जितेपछि सेमिफाइनल वा फाइनल कोलम्बोमै खेलाइने सम्भावना समाप्त भयो। यद्यपि, खेलतालिकाको अनिश्चितताका कारण टिकट बिक्री १२ फागुनबाट मात्र सुरु गरिएको थियो।
दोस्रो सेमिफाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्नेछन्। समूह चरणमा दक्षिण अफ्रिकाले स्पष्ट जित हात पारेको थियो। टी-२० विश्वकपमा न्युजिल्यान्डविरुद्ध दक्षिण अफ्रिकाको शतप्रतिशत सफलता कायम छ। तर, नकआउट चरणको सन्दर्भ र दबाब फरक हुने भएकाले विगतको तथ्यांक मात्र निर्णायक मान्नु हतार हुनेछ।
भारत र इङ्ल्यान्ड : चिरपरिचित प्रतिद्वन्द्वी
सन् २०२२ मा इङ्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराउँदै विश्वकप उपाधि जित्यो। सेमिफाइनलमा उसको प्रतिस्पर्धी भारत नै थियो। इङ्ल्यान्डले भारतलाई १० विकेटले पाखा लगाएको थियो। त्यसमा पनि नायक कप्तान जस बटलर र एलेक्स हेल्स बने। यी दुईले १७० रनको अविजित साझेदारी गरेका थिए।
तर, सन् २०२४ मा रोहित शर्माको कप्तानीमा भारतले सानदार पुनरागमन गर्दै सेमिफाइनलमै इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्यो। र, फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै बार्बाडोसमा १५ वर्षपछि दोस्रोपल्ट उपाधि चुम्यो।

पाकिस्तानविरुद्द जितपछि इङ्ल्यान्डका विल ज्याक्स र ह्यारी ब्रोक।
यी दुई टोलीबीचको प्रतिस्पर्धा अंकगणितीय तथ्यमा मात्र सीमित छैन। यसमा इतिहास र बदलाजस्ता भावनात्मक आयाम पनि गाँसिएका छन्। टी-२० विश्वकपमा भारत र इङ्ल्यान्ड अहिलेसम्म पाँच पटक आमनेसामने भइसकेका छन्, जसमध्ये भारत तीन खेल र इङ्ल्यान्ड दुई खेल आफ्नो पक्षमा पार्न सफल भएका छन्। तर, यी खेलको वास्तविक रोमाञ्च तथ्यांकभन्दा बाहिर छ। हरेक भेटमा उतारचढाव, दबाब र नाटकीय मोड देखिएका छन्।
यी दुईबीच सबैभन्दा अविस्मरणीय खेल सन् २००७ को पहिलो संस्करणको टी-२० विश्वकपमा भएको थियो। उक्त खेलमा युवराज सिंहले एकै ओभरमा ६ छक्का प्रहार गर्दै विश्व क्रिकेटमा सनसनी मच्चाए। त्यो ओभर फालेका थिए, स्टुअर्ट ब्रडले। त्यसअघि मैदानमै एन्ड्र्यु फ्लिन्टफसँगको विवादले युवराजलाई झन् आक्रामक बनाएको थियो। त्यो दुर्लभ कीर्तिमानले टी-२० क्रिकेटको लोकप्रियता मात्र बढाएन, भारत-इङ्ल्यान्ड प्रतिस्पर्धालाई पनि नयाँ उचाइमा पुर्यायो।
पछिल्लो विश्वकप फाइनलपछि भारतले ४८ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दा ३७ जित निकालेको छ। घरेलु मैदानमा २३ मध्ये १९ खेल जित्दै भारतले आफ्नो बलियो आधार र निरन्तरता देखाइसकेको छ। जुन २०२४ को विश्वकपमा भारतीय टोलीमा स्थान बनाउन नसकेका अभिषेक शर्मा अहिले विश्व नम्बर एक टी-२० ब्याटर बनेका छन्।
जनवरीमा पाँच इनिङ्समध्ये दुई पटक शून्यमा आउट भए पनि उनले जम्मा १८२ रन बनाएका थिए। गुवाहाटीमा २५ जनवरीमा न्युजिल्यान्डविरुद्ध भएको खेलमा उनले १४ बलमै अर्धशतक प्रहार गरेका थिए। त्यसैले यस विश्वकपमा मुख्य प्रशिक्षक गौतम गम्भीरलाई उनीबाट ठूलो अपेक्षा थियो। तर, उनले गतिलो प्रदर्शन गर्नै सकेनन्।
समूह चरणका सुरुआती तीन खेलमा ओपनर अभिषेक शून्यमै पेभिलियन फर्किए। पेटका कारण नामिबियासँगको खेल गुमाएका उनी सुपर ८ मा बलियो बनेर आउने अपेक्षा गरिएको थियो। तर, उक्त खेलमा पनि उनी १५ रनभन्दा माथि जान सकेनन्।

श्रीलंकाविरुद्द चौथो विकेट लिएपछि न्युजिल्यान्डका अलराउन्डर रचिन रवीन्द्र।
‘डु अर डाई’ का रूपमा रहेको जिम्बाबेविरुद्धको खेलमा ५५ रनको अर्थपूर्ण इनिङ्स खेलेर टोलीको उद्दार गरेका अभिषेक खराब लयमै फर्किएका छन्। उनी वेस्ट इन्डिजविरुद्ध १० रनमै आउट भए। तर, भारतलाई सञ्जु सामसनले लामो राहत दिलाएका छन्। लय समात्न नसकेका अर्का ओपनर इशान किसनको स्थानमा वेस्ट इन्डिजविरुद्ध ओपनिङमा प्रयोग गरिएका सन्जुले आफूलाई प्रमाणित गर्दै खेलको दिशा नै बदलेका थिए।
अर्कातर्फ भारतलाई आफ्नो सेमिफाइनल स्थान पहिल्यै सुनिश्चित हुनुले केही रणनीतिक लाभ मिल्ने देखिन्छ। उसले प्रतियोगिताभर धेरै सहरमा यात्रा गर्नुपरेको तथ्य पनि बेवास्ता गर्न मिल्दैन। फाइनल पुगेमा अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने भिडन्तअघि उसले त्यही मैदानमा पर्याप्त खेलिसकेको हुनेछ। यो उसका लागि अनुकूल परिस्थिति बन्न सक्छ।
दक्षिण अफ्रिका र न्युजिल्यान्ड : एकै प्रतियोगितामा दोस्रो भेट
दक्षिण अफ्रिका र न्युजिल्यान्ड एकै प्रतियोगितामा दोस्रो पटक भिड्न लागेका हुन्। यी दुई टोलीबीच यसअघि २ फागुनमा समूह ‘डी’ अन्तर्गत प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा साबिक उपविजेता दक्षिण अफ्रिकाले उत्कृष्ट प्रदर्शन गर्दै न्युजिल्यान्डलाई सात विकेटले पराजित गर्यो। दक्षिण अफ्रिकाको जितमा कप्तान एडेन मार्करम नायक साबित भएका थिए। उनले ४४ बलमा अविजित ८६ रनको सानदार इनिङ्स खेल्दै टोलीलाई सहज जिततर्फ डोर्याए।
समूह चरणमा दक्षिण अफ्रिकासँग सात विकेटले पराजित न्युजिल्यान्डले सुपर ८ मा पनि इङ्ल्यान्डसँग चार विकेटको हार बेहोरेको थियो। तर, पाकिस्तानले श्रीलंकाविरुद्ध फराकिलो जित निकाल्न नसक्दा समान अंक भए पनि राम्रो नेट रनरेटका आधारमा न्युजिल्यान्ड सेमिफाइनल पुग्न सफल भयो। यसले प्रतियोगिताको रोमाञ्चकता अझ बढाएको छ।
दक्षिण अफ्रिका प्रतियोगिताभर अपराजित रहँदै सेमिफाइनलमा स्थान बनाउने एक मात्र टोली हो। समूह चरणदेखि सुपर आठसम्म उसले निरन्तर सन्तुलित र प्रभावशाली प्रदर्शन गरेको छ। बलिङ र ब्याटिङ दुवै विभागमा उत्कृष्ट समन्वय देखिएको दक्षिण अफ्रिका उपाधि दाबेदार मानिएको छ।
यता, न्युजिल्यान्डले भने उतारचढावपूर्ण यात्रा पार गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। समूह चरणमा दक्षिण अफ्रिकासँग सात विकेटले पराजित न्युजिल्यान्डले सुपर ८ मा पनि इङ्ल्यान्डसँग चार विकेटको हार बेहोरेको थियो। तर, पाकिस्तानले श्रीलंकाविरुद्ध फराकिलो जित निकाल्न नसक्दा समान अंक भए पनि राम्रो नेट रनरेटका आधारमा न्युजिल्यान्ड सेमिफाइनल पुग्न सफल भयो। यसले प्रतियोगिताको रोमाञ्चकता अझ बढाएको छ।
पहिलो भेटमा स्पष्ट जित निकालेको दक्षिण अफ्रिका आत्मविश्वासका साथ मैदान उत्रनेछ भने न्युजिल्यान्ड हारको बदला लिँदै फाइनल यात्राको लक्ष्यसहित प्रतिस्पर्धा गर्ने तयारीमा हुनेछ।

भारतलाई हराएपछि खुसी साट्दै दक्षिण अफ्रिकाका खेलाडी।
तर, इडेन गार्डेन्स दुवै टोलीका लागि नयाँ मैदान हुनेछ। ऐतिहासिक र ठूलो दर्शक क्षमताका लागि परिचित यस मैदानमा पहिलो पटक खेल्दा परिस्थिति कस्तो रहला भन्ने चासो बढेको छ। सन् २०२४ को टी-२० विश्वकपमा दक्षिण अफ्रिकालाई उपविजेता बनाएका प्रशिक्षक रब वाल्टरका अनुसार अपरिचित अवस्था न्युजिल्यान्डका लागि केही हदसम्म फाइदाजनक हुन सक्छ। उनका अनुसार दुवै टोलीका लागि मैदान नयाँ भए पनि परिस्थितिमा छिटो घुलमिल हुन सक्ने टोलीले जित हात पार्ने सम्भावना बलियो छ।
न्युजिल्यान्ड र दक्षिण अफ्रिका दुवैले अन्तर्राष्ट्रिय क्रिकेटमा उल्लेखनीय सफलता हासिल गरेका छन्। न्युजिल्यान्ड र दक्षिण अफ्रिकासँग विश्व टेस्ट च्याम्पियनसिप उपाधि उचालेको अनुभव छ। त्यसैगरी, दुवै टोली च्याम्पियन्स ट्रफीका प्रारम्भिक विजेता पनि हुन्। तर पनि, दुवैले अहिलेसम्म कुनै पनि सेतो बल (एकदिवसीय र टी-२०) विश्वकप जित्न सकेका छैनन्।
दक्षिण अफ्रिकाको सबैभन्दा कठिन परीक्षा अफगानिस्तानविरुद्ध रह्यो। जित निकाल्न टोलीले दुई पटकसम्म सुपर ओभर खेल्नुपरेको थियो। त्यस खेलले दक्षिण अफ्रिकाको दृढता र दबाब झेल्ने क्षमता उजागर गरेको छ। यता, अफगानिस्तानलाई भने न्युजिल्यान्डले आफ्नो उद्घाटन खेलमा सहजै पराजित गरेको थियो।
सन् २०२४ मा पहिलो पटक टी-२० विश्वकप फाइनल पुगेको दक्षिण अफ्रिका भारतसँग सात रनले पराजित भएको थियो। न्युजिल्यान्ड २०१५ को एकदिवसीय विश्वकपमा अस्ट्रेलियासँग, २०१९ को इङ्ल्यान्डसँग र २०२१ को टी-२० विश्वकपमा पुनः अस्ट्रेलियासँग पराजित हुँदै उपविजेतामै सीमित बनेको थियो। महत्त्वपूर्ण क्षणमा उपाधि हात पार्न नसक्नु दुवै टोलीको साझा पीडा बनेको छ। “दक्षिण अफ्रिकाले यस विश्वकपमा अहिलेसम्म उत्कृष्ट क्रिकेट खेलेको छ,” वाल्टरले भनेका छन्।
दक्षिण अफ्रिकाको सबैभन्दा कठिन परीक्षा अफगानिस्तानविरुद्ध रह्यो। जित निकाल्न टोलीले दुई पटकसम्म सुपर ओभर खेल्नुपरेको थियो। त्यस खेलले दक्षिण अफ्रिकाको दृढता र दबाब झेल्ने क्षमता उजागर गरेको छ। यता, अफगानिस्तानलाई भने न्युजिल्यान्डले आफ्नो उद्घाटन खेलमा सहजै पराजित गरेको थियो।
सेमिफाइनलका दुई खेल २० र २१ फागुनमा हुँदै छन्। पहिलो खेल दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच तथा दोस्रो भारत र इङ्ल्यान्ड। पहिलो सेमिफाइनलमा दुवै टोली इतिहास रच्ने दाउमा हुनेछन् भने दोस्रो सेमिफाइनल बिरासत जोगाउन।