बेरुत। अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको असर लेबनानमा पनि फैलिएको छ । इजरायली सेनाले हिजबुल्लाहले राति उत्तर इजरायलमा रकेट प्रहार गरेपछि लेबनानका लक्ष्यमा आक्रमण सुरु गरेको पुष्टि गरेको छ। इरान समर्थित हिजबुल्लाहले यो हमला इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको हत्या प्रतिशोध स्वरूप गरेको दाबी गरेको छ।
लेबनानको हिजबुल्लाह समूहले नोभेम्बर २०२४ को इजरायल–लेबनान युद्धविरामपछि पहिलोपटक उत्तर इजरायलमा रकेट प्रहारको जिम्मेवारी लिएको हो। समूहले यसलाई “मुस्लिम सर्वोच्च नेता अली खामेनीको रगतको प्रतिशोध” भनेको छ। हिजबुल्लाहले हाइफा दक्षिणमा रहेको मिसाइल रक्षा साइटलाई लक्ष्य बनाएको दाबी गरेको छ।
इजरायली सेनाका अनुसार, लेबनानबाट प्रहार गरिएको एउटा रकेटलाई रोकिएको छ भने अन्य केही रकेट खुला स्थानमा खस्न दिइएको थियो। कुनै मानवीय क्षति वा भौतिक नोक्सानीको खबर प्राप्त भएको छैन।
हिजबुल्लाहले यस रकेट आक्रमणलाई इजरायलको अधिकारमा राखिएको लेबनानी क्षेत्रबाट फिर्ता गर्न चेतावनीको रूपमा प्रस्तुत गरेको छ। इजरायलले लेबनानमा सुरक्षा कारण देखाउँदै पाँच सीमा चौकी आफ्नो नियन्त्रणमा राखेको छ।