काठमाडौँ। कुवेती हवाई प्रतिरक्षा प्रणालीले भुलवश अमेरिकाका तीनवटा एफ-१५ लडाकु विमानहरू खसालेको छ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानविरुद्धको सैन्य अपरेसनमा सहभागी ती विमान ‘फ्रेन्डली फायर’ (मैत्रीपूर्ण गोलाबारी) का कारण दुर्घटनामा परेका हुन्।
सेन्ट्रल कमान्डले जारी गरेको विज्ञप्तिअनुसार इरानी विमान, ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनहरूले गरिरहेको तीव्र आक्रमणलाई निस्तेज पार्ने क्रममा कुवेती प्रतिरक्षा प्रणालीले भुलवश आफ्नै सहयोगी राष्ट्र अमेरिकाका विमानहरूलाई निशाना बनाएको थियो। ‘सक्रिय युद्धका क्रममा कुवेती हवाई रक्षा बलले गल्तीवश अमेरिकी वायुसेनाका तीनवटा लडाकु विमानलाई खसालेको हो,’ विज्ञप्तिमा भनिएको छ।
विमानमा सवार सबै ६ जना चालक दलका सदस्य सुरक्षित रूपमा उद्धार गरिएको र स्वास्थ्य अवस्था स्थिर रहेको अमेरिकी सेनाले पुष्टि गरेको छ। यसअघि आज (सोमबार) बिहान कुवेतमा केही अमेरिकी युद्धक विमानहरू दुर्घटनाग्रस्त भएको खबर सार्वजनिक भए पनि त्यसको आधिकारिक कारण खुलेको थिएन।
सेन्ट्रल कमान्डले यस घटनाको गम्भीर अनुसन्धान भइरहेको र थप विवरण प्राप्त हुनासाथ सार्वजनिक गरिने जानकारी दिएको छ।