काठमाडौँ
००:००:००
१८ फाल्गुन २०८२, सोमबार

१८ फाल्गुन २०८२
तस्बिर : एआईसिर्जित
अ+
अ-

काठमाडौँ। इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि मध्यपूर्वमा फैलिएको द्वन्द्वको प्रत्यक्ष असर संयुक्त अरब इमिरेट्स (यूएई) को वित्तीय क्षेत्रमा देखिएको छ।

इरानी सर्वोच्च नेता आयातोल्लाह खामेनीको मृत्यु र त्यसपछि यूएईमा भएका ड्रोन तथा मिसाइल आक्रमणका कारण यूएईले आफ्ना प्रमुख स्टक एक्सचेन्जहरू बन्द गर्ने निर्णय गरेको छ। यूएईको वित्तीय नियामक निकायले दुबई र आबुधाबीका सेयर बजारहरू सोमबार र मंगलबारका लागि बन्द रहने घोषणा गरेको हो।

क्षेत्रीय द्वन्द्वका कारण मध्यपूर्वमा यसरी सेयर बजार नै बन्द गरिएको यो पहिलो घटना हो। यसअघि यूएईले राष्ट्रिय शोकका बेला मात्र बजार बन्द गर्ने गरेको थियो। यो कदमले एकातिर बजारलाई तत्कालीन पतनबाट जोगाउन खोजेको छ भने अर्कोतिर अन्तर्राष्ट्रिय लगानीकर्ताहरूमाझ दुबईको ‘सुरक्षित वित्तीय हब’ को पहिचानमा प्रश्नचिह्न खडा गरिदिएको छ।

अबुधाबीको मुख्य विमानस्थलमा भएको आक्रमणमा एक जनाको मृत्यु र सातजना घाइते भएपछि सुरक्षा र आर्थिक जोखिमलाई मध्यनजर गर्दै यो कदम चालिएको हो। यूएईको सेयर बजार बन्द हुनुका मुख्य कारणहरू यस्ता छन् :

१. ‘प्यानिक सेलिङ’ रोक्ने प्रयास
यूएईको पुँजी बजार प्राधिकरणले दुबई र आबुधाबीका सेयर बजारहरू सोमबार र मंगलबारका लागि बन्द गरेको छ। क्षेत्रीय अस्थिरताका कारण लगानीकर्ताहरूमा ‘प्यानिक सेलिङ’(अत्तालिएर सेयर बेच्ने प्रवृत्ति) बढ्न सक्ने र बजार पूर्ण रूपमा ध्वस्त हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै यो कदम चालिएको हो।

२. क्षेत्रीय र विश्वव्यापी प्रभाव
यूएईको यो कदमसँगै अन्य बजारहरूमा पनि गिरावट देखिएको छ। यूएईको यो निर्णयसँगै विश्वभरका सेयर बजारमा नकारात्मक असर देखिएको छ। साउदी अरबको तादावुल इन्डेक्स चार प्रतिशतले ओरालो लागेको छ।

त्यस्तै इजिप्टको ईजीएक्स ३० मा २.५ प्रतिशतको गिरावट आएको छ। एसियाली बजारहरू जापानको निक्केई १.४ प्रतिशत र हङकङको ह्याङ सेङ २.२ प्रतिशतले ओरालो लागेको छ।

३. लगानीकर्ताको विश्वासमा संकट
क्षेत्रीय द्वन्द्वका कारण मध्यपूर्वमा यसअघि कहिल्यै पनि यसरी सेयर बजार बन्द गरिएको थिएन। विश्लेषकहरूका अनुसार यो निर्णयले दुबईलाई सुरक्षित वित्तीय हबको रूपमा स्थापित गर्ने प्रयासमा धक्का पुऱ्याउन सक्छ। बजार बन्द हुँदा लगानीकर्ताले आवश्यक परेको बेला नगद निकाल्न पाउँदैनन्। जसले गर्दा पुँजी पलायनको खतरा बढ्छ।

४. यूएईको सेयर बजारको भविष्य
करिब १.१ खर्ब अमेरिकी डलरको बजार पुँजीकरण भएको यूएईको सेयर बजार पछिल्लो समय राम्रो वृद्धिमा थियो। विज्ञहरूका अनुसार यो बन्द ‘सावधानीपूर्ण हस्तक्षेप’ मात्र हो र यूएईको आर्थिक आधारशिला अझै बलियो छ। यद्यपि, युद्ध लम्बिएमा यसले दीर्घकालीन रूपमा लगानीकर्ताको मनोबल कमजोर बनाउने देखिन्छ। विश्वको सबैभन्दा ठुलो सेयर बजार न्युयोर्क स्टक एक्सचेन्जको बजार पुँजीकरण करिब ४४ खर्ब अमेरिकी डलरको छ। मध्यपूर्वको सबैभन्दा ठुलो सेयर बजार साउदी एक्सचेन्जको मूल्य तीन खर्ब अमेरिकी डलरभन्दा बढी छ।