काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौं तार्केश्वर नगरपालिकामा रहेको मतदानस्थलको अनुगमन गरेका छन्।
उनले उच्च अधिकारीसहित तार्केश्वर नगरपालिकाअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ को मतदानस्थलको बुधबार अनुगमन गरेका हुन्। अनुगमनका क्रममा अर्यालले मतदान केन्द्रको सुरक्षा व्यवस्था, मतदाताको सहज आवागमन तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिएका हुन्।
अनुगमनमा गृह-सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुख तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललगायत सुरक्षा निकायका अधिकारीहरू सहभागी थिए।
त्यस अवसरमा गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी भइसकेकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे। उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै निकाय सतर्क रहन निर्देशनसमेत दिए।

मन्त्री अर्यालले स्थानीय मतदातासँग कुराकानी गर्दै समग्र अवस्थाबारे जानकारी लिएका थिए। उनले निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई आ-आफ्नो जिम्मेवारी कुशलतापूर्वक पालना गर्न आग्रह गरेका छन्।
गृह मन्त्रालयमा प्रत्येक दिन केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनसँग सम्बन्धित दैनिक गतिविधिको समीक्षा र रणनीति तथा जनशक्ति परिचालनका साथै समन्वयको कामलाई प्रभावकारी बनाइएको अर्यालको सचिवालयले जनाएको छ।
निर्वाचन सुरक्षा रणनीतिअन्तर्गत निर्वाचनअघि, निर्वाचनको अवधिमा र निर्वाचनपछि मतपत्रको ढुवानी, परिणाम घोषणासम्मका कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अन्तर्गत रही कार्य गरिरहेको मन्त्रालयले जनाएको छ।
