काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२१ फाल्गुन २०८२
तस्बिर : वीरेन्द्र रमण
अ+
अ-

जनकपुर। धनुषामा मतदाताले उत्साहपूर्वक रुपमा मतदान गरिरहेका छन्। सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा पनि मतदातामा उत्साह देखिएको छ।

दिउँसोदेखि महिला मतदाताको सङ्ख्या निकै बढेको छ। दिउँसो १२ बजेसम्ममा धनुषाको चारवटै निर्वाचन क्षेत्रमा २५ प्रतिशतको हाराहारीमा मतदान भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए। उनले जिल्लामा रहेको सबै मतदानस्थलमा मतदाताले उत्साहपूर्वक मतदान गरिरहेको बताए।

हालसम्म जिल्लाभरको कुनै पनि मतदानस्थल तथा मतदान केन्द्रमा विवाद नभएको प्रमुख जिल्ला अधिकारी लुइँटेलको भनाइ छ। पाँच लाख १४ हजार ५७१ जना मतदाता रहेको धनुषामा १५७ जना उम्मेदवार छन्।

धनुषा निर्वाचन क्षेत्र १ मा ४१, २ मा ३४‚ ३ मा ४५ र ४ मा ३७ जना उम्मेदवार छन्। धनुषा १ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा ४२ उम्मेदवार भए पनि दुई दिनअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएपछि ४१ जना उम्मेदवार कायम भएको छ।