काठमाडौँ। मध्यपूर्वमा जारी तनावका बीच अभिनेता सोनु सुदले दुबईमा अलपत्र परेका यात्रुहरूलाई सहयोग गर्ने घोषणा गरेका छन्। उनले कुनै पनि सर्तबिना उनीहरूका लागि निःशुल्क बसोबास उपलब्ध गराइने बताएका छन्।
बिहीबार सोनु सुदले इन्स्टाग्राममा भिडिओ सन्देश साझा गरी दुबईमा अलपत्र परेकाहरूलाई सम्बोधन गर्दै सहरमा अड्किएका मानिसहरूलाई उनीहरूको जुनसुकै राष्ट्रियता भए पनि निःशुल्क आवास उपलब्ध गराएर सहयोग गर्ने बताए।
हिन्दुस्तान टाइम्सका अनुसार उनले भनेका छन्, ‘चलिरहेको संकटका कारण दुबईमा अड्किएका जोकोही हुनुहुन्छ, हामी तपाईंलाई भन्न चाहन्छौँ कि तपाईंका लागि बस्ने ठाउँ उपलब्ध छ। हामी सुनिश्चित गर्नेछौँ कि तपाईंले निःशुल्क आवास पाउनुहुनेछ।’ उनले यात्रुहरूलाई बस्ने ठाउँ आवश्यक परेमा आफूसँग इन्स्टाग्राममा सोझै सन्देश पठाएर सम्पर्क गर्न अनुरोध पनि गरेका छन्।
मध्यपूर्वमा अमेरिका-इजरायल र इरानबीच बढेको द्वन्द्वका कारण धेरै उडान रद्द भए, जसका कारण धेरै अन्तर्राष्ट्रिय यात्रुहरू दुबईका विमानस्थल र सहरका अन्य भागमा अलपत्र परेका छन्।
दबङ, जोधा अकबर, ह्याप्पी न्यु इयर, सिम्मालगायत फिल्ममा अभिनय गरेका सुद यसअघि पनि सामाजिक कार्यका कारण रिल लाइफमा मात्र नभई रियल लाइफका हिरोका रूपमा प्रसिद्ध छन्।
कोभिड महामारीका कारण भएको लामो लकडाउनका समयमा उनले विदेशमा अड्किएका विद्यार्थी र प्रवासी मजदुरहरूलाई भारत फर्काउन सहयोग गरेका थिए। साथै, भारतमै रहेका मजदुर र गरिब तथा बेघर मानिसहरूलाई औषधि, मेडिकल उपकरण, खाना र अन्य राहत सामग्रीलगायत आर्थिक सहयोग जुटाएका थिए।