काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

भत्कियो २०४८ सालयताको वामपन्थी गढ

२४ फाल्गुन २०८२
अ+
अ-

भोजपुरबाट प्रतिनिधिसभा सदस्यका लागि श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई विजयी भएका छन्। आइतबार दिउँसो सम्पन्न मतगणना परिणामअनुसार एमालेका केन्द्रीय सचिवसमेत रहेका शेरधन राईलाई एक हजार ९१३ मतले हराउँदै जित हात पारेका हुन्। ध्रुवराजले १६ जार ६६३ मत पाउँदा शेरधनले १४ हजार ७५० मत ल्याएका छन्। यससँगै पूर्वसञ्चारमन्त्री एवम् कोसी प्रदेशका पहिलो मुख्यमन्त्रीसमेत रहेका शेरधनले पराजय बेहोरेका छन्। भोजपुरमा २०४८ सालयताको वामपन्थी गढको बिरासत पनि भत्किएको छ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि २०७९ सालसम्म देशमा सात वटा आमनिर्वाचन सम्पन्न हुँदा भोजपुरमा २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेले लगातार जित हात पारेको थियो। २०५६ सालमा तत्कालीन क्षेत्र नं. २ बाट शेरधन राईले नै जितेका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भोजपुरका दुवै क्षेत्रमा माओवादीले जितेको थियो। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नं. १ बाट एमाले र क्षेत्र नं. २ बाट तत्कालीन माओवादी उम्मेदवारले जितेका थिए। संघीयता लागु भएपछि भोजपुरमा प्रतिनिधिसभा सदस्यका लागि एउटा क्षेत्र कायम भयो। २०७४ र २०७९ सालका दुवै निर्वाचनमा तत्कालीन माओवादीकै जित भयो।

पहिलो पल्ट वामपन्थी गढको बिरासत ढाल्दै विजयी भएका ध्रुवराजको संघीय संसद् यात्रा तय भएको छ। उनले २०७४ सालदेखि पाँच वर्ष गाउँपालिका अध्यक्षको नेतृत्व सम्हालेका छन्।

एमालेको विद्यार्थी राजनीतिबाट उदाएका उनी २०६४ सालमा अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य भएका थिए। देशमा संघीयता लागु भएपछि २०७४ सालमा भएको पहिलो स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमको गठबन्धनलाई हराएर भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए। गत मंसिरसम्म एमालेमा आबद्ध ध्रुवराज एमाले नेतृत्वले जनता र कार्यकर्ताको भावनाविपरीत काम गरेको भन्दै गत २ पुसमा पार्टी त्यागेर श्रम संस्कृति पार्टीमा प्रवेश गरी पहिलो पटक प्रतिनिधिसभा निर्वाचनको होमिएका थिए।

एमालेभित्र पटक पटक अवसर पाउनेमध्येका शेरधन ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सचिव हुन्। २०४४ सालमा अनेरास्ववियुबाट राजनीति सुरु गरेका उनी भोजपुरबाट यस पालि छैटौँ पटक उम्मेदवार बनेका हुन्। उनले २०५६ सालको आमनिर्वाचन, २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रदेशसभा निर्वाचनमा जित हात पारे। २०६४ सालको पहिलो संविधानसभाको निर्वाचन र २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा भने पूर्वमाओवादीका सुदन किरातीसँग पराजित भएका थिए। उनी २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका थिए। २०७४ सालमा कोसीका प्रथम मुख्यमन्त्री बनेका थिए।

ध्रुवराज भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका-४ का स्थायी बासिन्दा हुन् भने शेरधन भोजपुरको दक्षिणी आमचोक गाउँपालिका-३ का स्थायी बासिन्दा हुन्।

जेन-जी आन्दोलनको बलमा भएको प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुरमा १२ दल चुनावी मैदानमा थिए। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको भोजपुरमा कुल मतदाता एक लाख २३ हजार ३७९ मध्ये महिला ५९ हजार २५३, पुरुष ६४ हजार १२५ र अन्य १ जना हुन्। २१ फागुनमा सम्पन्न निर्वाचनमा भोजपुरमा ५८ हजार ६९ मत खसेको थियो।

भोजपुरका ध्रुवराजसँगै सुनसरी १ मा र खोटाङमा पनि श्रम संस्कृति पार्टीका उम्मेदवार विजयी भएका छन्। सुनसरीमा पार्टी अध्यक्ष हर्कराज साम्पाङ र खोटाङमा पार्टी महासचिव आरेन राईले जितेका हुन्।