काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

क्रिकेट

न्युजिल्यान्ड ९६ रनले पराजित हुँदै उपविजेतामा चित्त बुझायो

२४ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। भारतले टी-२० विश्वकपको उपाधि रक्षा गर्दै इतिहास रचेको छ। आइतबार सम्पन्न फाइनलमा न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै भारतले यो उपलब्धि हासिल गरेको हो।

भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा सबै विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो। योसँगै भारत सर्वाधिक तीनपटक विश्वकप विश्वकप जित्ने पहिलो टोली पनि बन्न सफल भएको छ।

यसअघि भारतले २००७ र २०२४ मा विश्वकप जितेको थियो। न्युजिल्यान्डका ओपनर टिम सिफर्टले सर्वाधिक ५२ रन बनाए। २६ बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गरे। मिचेल स्यान्टनरले ४३ रनको योगदान दिए। अन्य ब्याटर भने टिक्न सकेनन्।

भारतका जसप्रित बुमराह बलिङमा चम्किए। उनले ३.५ ओभरमा मात्र १५ रन दिएर ४ विकेट लिए।

अक्षर पटेलले ३ विकेट लिँदा हार्दिक पाण्ड्या, अभिषेक शर्मा र वरुण चक्रवर्तीले १-१ विकेट लिए। त्यसअघि नरेन्द्र मोदी स्टेडियममा पहिला ब्याटिङ थालेको भारतले शक्तिशाली प्रदर्शन गर्दै ५ विकेट गुमाएर २५५ रन बनाएको थियो।

भारतका ओपनर सञ्जु स्यामसनले उत्कृष्ट ब्याटिङ गर्दै ४६ बलमा ८ चौका र ५ छक्का प्रहारसहित ८९ रन बनाए।

त्यस्तै अभिषेक शर्माले आक्रामक सुरुआत गर्दै २१ बलमा ६ चौका र ३ छक्कासहित ५२ रन जोडे।

इशान किशनले पनि राम्रो साथ दिँदै २५ बलमा ४ चौका र ४ छक्कासहित ५४ रन बनाए। कप्तान सूर्यकुमार यादव भने पहिलो बलमै आउट भए। हार्दिक पाण्ड्याले १३ बलमा १८ रन बनाए।

अन्तिम ओभरतिर शिवम् दुबेले आक्रामक ब्याटिङ गरे। ८ बलमा ३ चौका र २ छक्कासहित अविजित २६ रन बनाए भने तिलक बर्मा ८ रनमा अविजित रहे।

न्युजिल्यान्डका जिम्मी निशमले ३ विकेट लिए। म्याट हेनरी र रचिन रविन्द्रले समान १-१ विकेट लिए।