काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

नयाँ सदन

नयाँ संसद् भवन निर्माणको काम अझै नसकिँदा संसद् सचिवालयलाई सकस

२४ फाल्गुन २०८२
सिंहदरबारस्थित नयाँ संसद् भवन। सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणतिर पुगेको छ। निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकबाट ११० जना गरी २७५ सांसदको आगमन हुँदै छ। तर, चुनिएर आउने सांसदहरूको बैठक बस्न भवन नै छैन।

नयाँ बानेश्वरमा रहेको संघीय संसद्का रूपमा प्रयोग हुँदै आएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन २३ र २४ भदौको जेन-जी आन्दोलनमा आगजनी गरिँदा ध्वस्त भयो। सिंहदरबारभित्र निर्माणाधीन अत्याधुनिक संघीय संसद् भवन अझै सम्पन्न भएको छैन।

निर्वाचन आयोगले चुनावको अन्तिम नतिजा घोषणा गरेको मितिले एक महिनाभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने  संवैधानिक व्यवस्था छ। समानुपातिक प्रणालीतर्फको मतपरिणाम आउन केही दिन लाग्ने देखिन्छ र त्यसपछि मात्रै आयोगले अन्तिम परिणाम सार्वजनिक गर्नेछ।

संविधानअनुसार प्रतिनिधिसभाका नयाँ सदस्यको बैठक वैशाखको पहिलो साता बस्नुपर्ने देखिन्छ। त्यसअघि नयाँ सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनुपर्ने हुन्छ। ठाउँ नभएकाले शपथग्रहण समारोह कहाँ राख्ने भन्ने चिन्ता संघीय संसद् सचिवालयलाई परेको छ।

नयाँ संसद् भवनले पूर्णता नपाए अर्को विकल्प नभएको संघीय संसद् सचिवालयका प्रवक्ता, सहसचिव एकराम गिरी बताउँछन्। तर, बाँकी रहेको थोरै समयमा भवन बनिसक्नेमा संशय नै छ। उनी भन्छन्, “सहरी विकास मन्त्रालयले प्रतिनिधिसभाको बैठक बस्न आगामी १ चैतसम्ममा हल दिने भनेर विश्वस्त बनाएको छ, तर अहिले भइरहेको कामको प्रगति हेर्दा शंका गर्नुपर्ने देखिन्छ।”

नयाँ भवनबाहेक अन्य विकल्प नदेखिएकाले त्यही भवन बनेर हस्तान्तरण हुने आसमा बसेको प्रवक्ता गिरी बताउँछन्।

संघीय संसद् सचिवालयले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन भाडामा लिएर संसद् बैठक सञ्चालन गर्दै आएको थियो। २०६४ सालमा निर्वाचित संविधानसभायताका संसद् बैठक सोही भवनमा बस्दै आएको थियो।

२०७६ सालदेखि सिंहदरबार परिसरमा नयाँ सुविधासम्पन्न संसद् भवन बनाउन थालिएको थियो। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनबाट चुनिने संसद्को बैठक नयाँ भवनमा बस्ने लक्ष्यसहित भवन निर्माणको ठेक्का सम्झौता भएको थियो। सहरी विकास मन्त्रालयले १६ असोज २०७९ मा काम सक्ने गरी तुन्डी–सेक जेभीलाई सात अर्ब ७३ करोड रुपैयाँमा ठेक्का दिएको थियो। तर, पाँचौँ पटक म्याद थपिसक्दा पनि निर्माण सम्पन्न भएको छैन। यसअघि ठेकेदार कम्पनीलाई गत १६ पुससम्म दिएको म्यादमा पनि काम नसकिएपछि सहरी विकास मन्त्रालयले पाँचौँ पटक म्याद थपेको थियो।

सिंहदरबार परिसरमा १५६ रोपनी क्षेत्रफलमा संघीय संसद् भवन बनाइँदै छ। १२ वटा पाँचतले भवनमध्ये एउटा पनि पूर्ण रूपमा सकिएको छैन। केही हल र प्रतिनिधिसभाको बैठक बस्ने सभाकक्ष सुरुमा आवश्यक पर्ने सहसचिव गिरी बताउँछन्।

नयाँ भवनमा ७०० सिट क्षमताको प्रतिनिधिसभा बैठक कक्ष रहनेछ। जसमा मुख्य सभाहलमा ४०० सिट र बाल्कोनीमा ३०० सिट रहनेछन्। राष्ट्रिय सभाका लागि २९० सिट क्षमताको व्यवस्था गरिएको छ भने ३५० सिट अट्ने संयुक्त लबी निर्माण गरिएको छ। यसका साथै, १० राजनीतिक दलका लागि संसदीय दलको कार्यालय तथा बैठक कक्ष पनि हुनेछ। प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र दलका प्रमुख सचेतकका लागि अति विशिष्ट कक्षसमेत निर्माण गरिएको छ।