काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२४ फाल्गुन २०८२
अ+
अ-

जनकपुरधाम। सर्लाही जिल्लाको चार वटै प्रतिनिधि सभा सदस्य सिटमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आफनो प्रतिद्वन्दी भन्दा फराकिलो मतले विजयी भएका छन।

सर्लाही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नितिमा भण्डारी कार्की भारी मतान्तरले बिजयी भएकी छन्।

भण्डारी ४४ हजार १८१ मत प्राप्त गर्दै बिजयी भएकी हुन्। नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८७१, नेकपा एमालेका मनोजकुमार देवकोटाले ६ हजार १०१, नेपाली कम्युनिष्ट पार्टीका प्रमोद साहले ५ हजार ४९८, जनता समाजवादी पार्टी नेपालका रामप्रकाश चौधरीले ३ हजार ९९१ मत प्राप्त गरेका छन्।

त्यसैगरि सर्लाहीको क्षेत्र नम्बर २ मा सर्लाही क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रविन महतो भारी मतान्तरले बिजयी भएका छन्। महतो ४२ हजार ५१२ मत प्राप्त गर्दै बिजयी भएका हुन्। निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका महिन्द्र राय यादवले ८ हजार ५२३ मत मात्र पाए। यादव यसै निर्वाचन क्षेत्रका निवर्तमान सांसद समेत हुन्।

त्यस्तै नेपाली कांग्रेसका डा. सरोज कुमारले ७ हजार ३९, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष समेत रहेका राजेन्द्र महतोले ५ हजार ९९२, नेपाल संघीय समाजवादी पार्टीका रजी अहमद्ले २ हजार २८३, नेपालका लागि नेपाली पार्टीका कृष्ण यादवले २ हजार २२७ र नेकपा एमालेका नागेश्वर साहले १ हजार ६६३ मत प्राप्त गरे ।

त्यसैगरि सर्लाही क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह कलवार सानदार मतसहित निर्वाचित भएका छन् । साह ४६ हजार ८९० मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । साहले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ३३ हजार ५५२ मतले पराजित गरेका छन् ।

रास्वपाका साह तेस्रो प्रयासमा संसदको यात्रा तय गर्न सफल भएका हुन् । उनी २०७९ को निर्वाचनमा नेकपा एमालेका हरिप्रसाद उप्रेतीसँग ७७० मतको झिनो अन्तरले पराजित भएका थिए ।

निवर्तमान प्रतिनिधि सभा सदस्य उप्रेतीले यो पटक चौंथो बन्दै ५ हजार ७७६ मात्र प्राप्त गरेका छन् । अहिले प्रतिनिधि सभा सदस्यमा निर्वाचित रास्वपाका कलवार २०७९ मा भने नेकपा माओवादी केन्द्रबाट प्रतिस्पर्धामा उत्रिएका थिए ।

उनी यो पटक मनोनयन दर्ताको केही दिनअघि मात्र रास्वपामा प्रवेश गरेका थिए । साहले २०७४ सालमा पनि सर्लाही ३ मा स्वतन्त्रबाट गुलाब चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रँदा १२ हजार बढी मत प्राप्त गरेका थिए ।

विभिन्न व्यवसाय गर्ने नवनिर्वाचित प्रतिनिधि सभा सदस्य साह सर्लाही ३ मा लामो समयदेखि सामाजिक कार्यमा सरिक हुँदै आएका छन् । सर्लाही ३ मा कांग्रेसका विनोदकुमार खनालले पाँच हजार ७७६ र उज्यालो नेपाल पार्टीका त्रिभुवनकुमार सिंहले दुई हजार ६२२ मत प्राप्त गर्दा अन्य उम्मेदवारले एक हजार मतसमेत पुर्याउन सकेनन् ।

सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंह निर्वाचित भएका छन्।

सिंह नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई १२ हजार ८५७ मतको फराकिलो अन्तरले पराजित गर्दै लगातार चौंथो पटक सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्यमा चुनिएका हुन्। सिंह ३५ हजार ६ सय ८८ मत प्राप्त गरी बिजयी हुँदा निकटतम प्रतिस्पर्धी थापालाई भने २२ हजार ८ सय ३१ मत प्राप्त गरे।

त्यसैगरि नेकपा एमालेका उम्मेदवार अमनिशकुमार यादवले ९ हजार ३सय ४३ मत प्राप्त गरेका थिए भने जनमत पार्टीका उम्मेदवार रहेका राकेशकुमार मिले १ हजार ५ सय ७२ मत प्राप्त गरेका छन। त्यसैगरि नेकपाका उम्मेदवार रजनिश रायले १ हजार ४सय १ मत प्राप्त गरेका छन।