काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

प्रतिनिधिसभा निर्वाचन

२४ फाल्गुन २०८२
कास्की १ मा मतगणना गरिँदै। तस्बिर : रासस
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। देशभरबाट अहिलेसम्म १५५ निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको छ। अब नौ निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ।

पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अहिलेसम्म १२० वटा क्षेत्र जितेको छ भन्रे ६ वटा स्थानमा अग्रता लिइरहेको छ।

नेपाली कांग्रेसले १७ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने एक स्थानमा झिनो मतान्तरले अग्रता लिएको छ। नेकपा (एमाले)ले अहिलेसम्म कुल १० सिटमा विजय प्राप्त गरेको छ भने तीन वटा क्षेत्रमा अग्रता लिइरहेको छ।

नेपाली कम्युनिस्ट पार्टीले देशभरबाट सात वटा क्षेत्रमा जित हासिल गरेको छ।

यसैगरी, श्रम संस्कृति पार्टीले अहिलेसम्म तीन क्षेत्रमा विजय हासिल गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले देशैभरबाट एक क्षेत्रमा मात्र जित निकाल्न सक्यो।

मतपरिणाम आउन बाँकी नौ क्षेत्रमा सुनसरी ४, बर्दिया २, गोरखा २, नुवाकोट १, गोरखा १, अछाम २, इलाम १, संखुवासभा १ र धनुषा १ रहेको निर्वाचन आयोगले उल्लेख गरेको छ।

पछिल्लो मतपरिणामअनुसार सुनसरी २ मा रास्वपाका उम्मेदवार लालविक्रम थापा ५७ हजार ३४८ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत पाए।

यसैगरी, सुनसरी ४ मा रास्वपाका दीपककुमार साह ३१ हजार ६६८ मतसहित अग्रता लिइरहेका छन्। नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की नौ हजार ९६४ मतसहित दोस्रो स्थानमा छन्।

बर्दिया २ मा रास्वपाका श्रीधर पोख्रेल २७ हजार १९२ मतसहित अग्रस्थानमा छन्। नेपाली कांग्रेसका किशोरसिंह राठौर १७ हजार ६७९ मतसहित पोख्रेललाई पछ्याइरहेका छन्।

गोरखा २ मा रास्वपाका कवीन्द्र बुर्लाकोटी २४ हजार १०१ मतसहित अग्रता लिइरहेका छन्। नेपाली कांग्रेसका प्रकाशचन्‍द्र दवाडी ११ हजार १२८ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्।

नुवाकोट १ मा रास्वपाका विक्रम तिमिल्सिना १८ हजार १४४ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका प्रकाशशरण महत १५ हजार १११ मतसहित दोस्रो स्थानमा छन्।

गोरखा १ मा रास्वपाका सुधन गुरुङ सात हजार ६८ मतसहित अग्रता लिइरहेका छन्। उनलाई नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ६ हजार २९६ मतसहित पछ्याइरहेका छन्।

यसैगरी, अछाम २ मा नेकपा (एमाले)का यज्ञबहादुर बोगटी आठ हजार ३४६ मतसहित अग्रता लिइरहेका छन् भने उनलाई नेपाली कांग्रेसका पुष्पबहादुर शाह आठ हजार ६० मतसहित पछ्याइरहेका छन्। इलाम १ मा नेकपा (एमाले)का काजीमान कागते सात हजार ४८१ मतसहित अग्रस्थानमा छन् भने उनलाई श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले ६‍ हजार ७५९ मतसहित पछ्याइरहेका छन्।

संखुवासभा १ मा नेकपा (एमाले)का अर्जुनकुमार कार्की पाँच हजार ६१५ मतसहित अग्रस्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मिङमा शेर्पा पाँच हजार २३ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्।

धनुषा १ मा नेपाली कांग्रेसका रामपल्टन साह आठ हजार ५१० मतसहित अघिअघि छन् भने नेपाली कम्युनिस्ट पार्टीका मातृकाप्रसाद यादव आठ हजार ४४३ मतसहित उनलाई पछ्याइरहेका छन्। साह र यादवबीच ६७ मतको मात्र फरक छ।