काठमाडौँ। अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन औपचारिक रूपमा सुरु भएको छ।
गत ३ फागुनमा शिवरात्रिको अवसर पारेर निर्माण घोषणा गरिएको यो चलचित्रको सोमबार सुटिङ आरम्भ गरिएको हो। ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सफल चलचित्रको निर्देशन गरिसकेकी रेखा झन्डै आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन्। चलचित्रमा रेखाको एउटा भिन्न परिचय देखिनेछ, उनी यसपटक क्यामेराको अगाडि (अभिनयमा) नभई पूर्ण रूपमा निर्देशनमा मात्र केन्द्रित रहनेछिन्।
रेखाले यसपटक आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ भन्दा बाहिर गएर ‘दिया एन्ड अमु फिल्मस्’को ब्यानरमा काम गरिरहेकी छन्।
चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र लामो समयपछि चलचित्रमा फर्किएका अभिनेता दिल श्रेष्ठ मुख्य भूमिकामा छन्। चलचित्रको अर्को आकर्षण भनेको तीनजना पूर्वमिस नेपालको उपस्थिति हो। सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाहले चलचित्रमा प्रमुख भूमिका निर्वाह गर्दै छन्।
चलचित्रमा लक्ष्मी गिरी, विशाल पहाडी, रवि डंगोल ‘बेमान’, संगम भण्डारी, सुजाता श्रेष्ठ र विनोद पौडेललगायत कलाकारको पनि अभिनय रहनेछ।
हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ निर्माता रहेको चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्नेछ। ध्रुव लम्सालको लेखन रहेको चलचित्रले प्रेमको वास्तविक परिभाषा खोज्ने प्रयास गर्नेछ। लेखक लम्साल पनि करिब एक दशकपछि सिनेमा लेखनमा फर्किएका हुन्। चलचित्रलाई आगामी वर्षको तीजको अवसर पारेर देशभरका हलमा प्रदर्शन गर्ने लक्ष्य राखेको निर्माणपक्षले जनाएको छ।