प्रतिनिधिसभा निर्वाचन
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष मात्र होइन, समानुपातिकतर्फ पनि ऐतिहासिक सफलता हासिल गरेको छ।
हालसम्म १६१ प्रत्यक्ष सिटको मतगणना सकिँदा रास्वपाले १२४ सिट जितिसकेको छ भने एक क्षेत्रमा अझै अग्रता कायम राखेको छ। समानुपातिकतर्फ पनि रास्वपाले ३६ लाख ५० हजार २१ मत प्राप्त गरेर अन्य दलभन्दा धेरै अगाडि देखिएको छ।
यस निर्वाचनमा दोस्रो स्थानमा देखिएको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १७ सिट जित्दा समानुपातिकतर्फ १२ लाख ३० हजार ३६२ मत प्राप्त गरेको छ।
त्यस्तै तेस्रो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रत्यक्षतर्फ आठ सिट जितेको छ भने एक क्षेत्रमा अग्रता बनाएको छ। समानुपातिकतर्फ एमालेले १० लाख ४० हजार १६८ मत पाएको छ।
यसैबीच नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रत्यक्षतर्फ सात सिट जितेको छ भने समानुपातिकमा ५ लाख ३४ हजार १५६ मत प्राप्त गरेको छ।
श्रम संस्कृति पार्टी का नेता हर्कराज राई को पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्दा समानुपातिकमा २ लाख ३९ हजार ७२ मत प्राप्त गरेको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक सिट जित्दै समानुपातिकतर्फ २ लाख ५७ हजार ६ मत प्राप्त गरेको छ।
राप्रपा र श्रम संस्कृति पार्टीले तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्ने सम्भावना देखिए पनि अन्य साना दलहरूले उक्त सीमा पार गर्ने सम्भावना कम हुँदै गएको छ।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ सबै क्षेत्रको अन्तिम परिणाम आज दिउँसोसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ भने समानुपातिकतर्फको अन्तिम नतिजा मंगलबारसम्म घोषणा गर्ने तयारी रहेको छ।