काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

निर्वाचन

सरकारलाई सजिलो पार्न हतारहतार हटाइयो आचारसंहिता

२६ फाल्गुन २०८२
निर्वाचन आयोगको कार्यालय।
अ+
अ-

काठमाडौँ। निर्वाचन आयोगले चुनावको समानुपातिक प्रणालीको मतगणना कार्य जारी रहेकै बेला आचारसंहिता हटाएको छ। यसअघिका चुनावमा भने निर्वाचनको सबै परिणाम घोषणा भएपछि मात्रै हटाउने गरिएको थियो।

२१ फागुनमा भएको निर्वाचनको पूर्ण नतिजा नआउँदै विभिन्न सरकारी निकायमा नियुक्तिलगायत प्रक्रिया अगाडि बढाउन निर्वाचन आचारसंहिता हटाइएको हो। आचारसंहिता लागु भएपछि कुनै पनि निकायमा नियुक्तिको प्रक्रियालगायत काम ठप्प भएको थियो।

४ माघ २०८२ देखि लागु गरिएको आचारसंहिता २५ फागुन रातिदेखि हटाइएको छ। यसअघि ४ मंसिर २०७९ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनमा आयोगले लागु गरेको आचारसंहिता चुनाव सकिएको २२ दिनपछि २६ मंसिरमा हटाएको थियो।

यसपटक सरकारको आग्रहका कारण आयोगले मतगणना नसकिँदै आचारसंहिता हटाएको हो। रिक्त  सरकारी पदमा नियुक्ति गर्न आचारसंहिता बाधक रहेका कारण सरकारले आयोगलाई आचारसंहिता हटाउन आग्रह गरेको हो। अहिले नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशकको पद रिक्त छ। त्यहाँ हाल निमित्त महानिर्देशक देवचन्द्रलाल कर्ण छन्। उनैलाई महानिर्देशकको जिम्मेवारी दिने सरकारको तयारी छ। प्राधिकरणको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा अध्यक्ष छन्।

राष्ट्र बैंकको डेपुटी गभर्नरको पद सोमबारदेखि खाली भएको छ। त्यसमा पनि सरकारले नियुक्ति गर्ने तयारी गरेको छ। राष्ट्रिय सभामा पनि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने एक जना मनोनीत सांसदको पद रिक्त छ। यी नियुक्तिहरूका लागि आचारसंहिता बाधक बनेका कारण हतारमा हटाइएको छ।

यता, सर्वोच्च अदालत र उच्च अदालतमा पनि न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने भएकाले आचारसंहिता हटाइएको उच्च स्रोतले जानकारी दिएको छ।

आचारसंहिता जारी रहँदा कर्मचारी सरुवाबढुवादेखि, विदेश यात्रामा समेत निर्वाचन आयोगको अनुमति चाहिने भएकाले त्यसलाई हतारमा हटाइएको हो। तर, आयोगको तर्क भिन्न छ। निर्वाचनको प्रयोजन सकिएकाले आचारसंहिता हटाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई बताउँछन्। “निर्वाचनमा नकारात्मक असर नपरोस् भन्ने हेतुले आचारसंहिता लगाउने गरिन्छ। मत खसिसक्यो, अब यसले कुनै नकारात्मक प्रभाव पार्दैन,” भट्टराई भन्छन्, “निर्वाचन प्रयोजन समाप्त भइसकेको आचारसंहिता हटाइएको हो।”

पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले विगतका चुनावमा अन्तिम परिणाम आएपछि मात्रै निर्वाचन आचारसंहिता हटाइएको सम्झन्छन्। “ठ्याक्कै यति दिनपछि भन्ने सम्झना त छैन। जे होस्, निर्वाचनको सम्पूर्ण परिणाम आइसकेपछि आचारसंहिता हटाउने चलन छ,” उनी भन्छन्, “निर्वाचन आयोगले खासै प्रभाव नपर्ने देखेर हटाएको हुन सक्छ।”

निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ मा आचारसंहिताको व्यवस्था गरिएको छ। सरकार, स्थानीय तहका कर्मचारी, सुरक्षाकर्मी, कर्मचारी, राजनीतिक दल, निजी तथा गैरसरकारी संस्थालाई समेत आचारसंहिता लाग्छ।

निर्वाचन आयोगले ४ माघदेखि लगाएको निर्वाचन आचारसंहिता २५ फागुन राति १२ बजेदेखि हटाएको छ।