काठमाडौँ। ग्यास विक्रेता महासंघ नेपालले सरकारले तोकेको मूल्यभन्दा बढीमा ग्यास विक्रिवितरण गर्नेलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै बजारमा ग्यास अभाव भएको र केही ठाउँमा विक्रेताहरूले अनुचित मूल्य लिएर उपभोक्तालाई मर्कामा पारेको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले मध्यपूर्वमा देखिएको पछिल्लो अशान्तिका कारण भविष्यमा ग्यास नपाइने हो कि भन्ने चिन्ता उपभोक्तामा पर्नु स्वाभाविक भएको उल्लेख गरेको छ। यस्तो अवस्थाको फाइदा लिन सरकारले तोकेको मूल्यभन्दा बढी मूल्य लिनु गम्भीर अपराध भएकाले गैरकानुनी काम नगर्न आम विक्रेतालाइ अपिल गरेको छ।
महासंघले देशभरिका आमविक्रेतालाई कुनै पनि गैरकानुनी काम नगर्न र जिम्मेवार भएर सेवा प्रवाह गर्न विज्ञप्तिमार्फत अपिल गरेको छ।
साथै, संकटका बेला उपभोक्ता ठग्ने विक्रेता वा ग्यास उद्योगीहरूलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न महासंघले सरकारसँग माग गरेको छ।
यस्ता गैरकानुनी काम गर्ने जोकोहीलाई कारबाही हुने कुरा सबै जिल्ला संघमार्फत देशभरिका विक्रेतालाई जानकारी गराउनसमेत महासंघले निर्देशन दिएको छ।