काठमाडौँ। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले यो राजीनामा दिने नभई जिम्मेवारी पूरा गर्ने समय भएको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत भण्डारीले पार्टीका सभापती गगन थापालाई राजीनामा दिनुभन्दा पनि छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो रहेको बताएका हुन्।
उनले लेखेका छन,‘राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो। त्यसैले गगन कुमार थापाले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो ।’
भण्डारीले कांग्रेसको पछिल्लो चुनावी प्रक्रिया नियमित नरहेको तर्क गर्दै गगन थापाले राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै बढी उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हुने बताएका छन्।
“अहिलेको अवस्थामा कांग्रेस बचाउनु आफैंमा एक नैतिक दायित्व हो,” भण्डारीले भनेका छन्। युवा पुस्ताले कांग्रेस छोड्दै गएको आजको कटु यथार्थलाई स्वीकार्दै उनले यस्तो संकटपूर्ण घडीमा पार्टीलाई ‘औषधि’ खुवाएर निको पार्नुपर्नेमा जोड दिएका छन्।
नेपाली राजनीतिमा नैतिकताको खडेरी परेको टिप्पणी गर्दै नेता भण्डारीले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्नुपर्ने आवश्यकता औंल्याएका छन्।