काठमाडौँ। नेपाल भाषा पत्रकार तथा साहित्यकार सुरेशकिरण मानन्धरको निधन भएको छ।
भाषा आयोगका सदस्य पनि रहेका ५९ वर्षीय मानन्धरलाई सोमबार हृदयाघात भएपछि शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टर लगिएको थियो। अस्पताल लगिएको केही समयमै उनलाई चिकित्सकले निधन भएको घोषणा गरेका थिए।
पञ्चायतकालीन समयमा नेपाल भाषाको इनाप साप्ताहिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका मानन्धरले नेपाल भाषा टाइम्सको सम्पादकका रूपमा तीन दशक काम गरेका थिए।
उनले नेपाल भाषा र नेपाल संवत्सँगै संस्कृतिबारे लामो समयदेखि लेख्दै र अध्ययन गर्दै आएका थिए। नेपाल भाषाका आधुनिक कवि पनि रहेका मानन्धरको एक कवितासंग्रह पनि प्रकाशित छ। यसैगरी उनले अप्सरा फिल्म म्यागजिन, कोशल्वहं चिनाखँ स्वलापौ, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने थाय्भू पत्रिकाको सम्पादक मण्डलमा रहेर काम गरेका थिए। उनको पत्नी र दुई छोरा छन्।