प्रतिनिधिसभा निर्वाचन
बुटवल। रुपन्देहीको क्षेत्र नम्बर १ र २ का तीन उम्मेदवारले निर्वाचनको खर्च विवरण बुझाएका छन्। उनीहरूले निर्वाचनका बखत आफूले गरेको खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन्। खर्च विवरण बुझाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टी‚ नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार छन्।
पौडेल र शर्माको खर्च कति?
कांग्रेस र एमालेका उम्मेदवारले रुपन्देही २ मा प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनको खर्च विवरण बुझाएका छन्। एमाले उम्मेदवारले २८ लाख रुपैयाँ र कांग्रेस उम्मेदवारले २४ लाख रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन्।
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले २१ फागुनमा भएको निर्वाचनमा २८ लाख रुपैयाँ खर्च भएको विवरण बुझाए। उनले बुझाएको खर्च विवरणमा सवारीसाधन भाडा तथा इन्धनमा आठ लाख ९७ हजार २७५ रुपैयाँ खर्च भएको उल्लेख छ। छापा एवं विद्युतीय प्रचारमा आठ लाख ३४ हजार, कार्यालय सञ्चालनमा दुई लाख ६४ हजार, विविधमा दुई लाख २२ हजार ३२५, छपाइमा एक लाख ९० हजार खर्च भएको विवरणमा उल्लेख छ।

विष्णुप्रसाद पौडेलको खर्च विवरण।
एसएमएसमा एक लाख ७५ हजार, मतदाता नामावली खरिदमा ९८ हजार, गोष्ठी तथा कार्यकर्ता परिचालनमा ५५ हजार, अन्तर्क्रियामा ४५ हजार र प्रतिनिधि परिचालनमा २६ हजार पाँच सय गरी २८ लाख सात हजार एक सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
यस्तै कांग्रेसबाट रुपन्देही २ का उम्मेदवार चुन्नप्रसाद शर्माले २४ लाख रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। शर्माले बुझाएको विवरणअनुसार नौ लाख २१ हजार ७४० रुपैयाँ मसलन्द छपाइ प्रिन्टिङतर्फ, एक लाख ७९ हजार ८९४ इन्धन सवारीसाधन, खाना-नास्ता चियापानमा पाँच लाख ४५ हजार ६८९, बिजुली साउन्ड सिस्टममा दुई लाख ७४ हजार ७२० रुपैयाँ उल्लेख छ।

चुन्नप्रसाद शर्माको खर्च विवरण।
यस्तै अफिस‚ प्रचार‚ कार्यालय भाडा दुई लाख ४० हजार, सवारीसाधन भाडा एक लाख ५० हजार र मञ्च व्यवस्थापन कुर्सी टेन्टमा एक लाख ३१ हजार ७८० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
रास्वपाका सुनील लम्सालको खर्च साढे १० लाख

सुनील लम्साल।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही १ मा उम्मेदवार रहेका सुनील लम्सालले १० लाख ६० हजार रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्। उनको खर्च विवरणमा मनोनयन दर्ता शुल्क १० हजार, प्रचार सामग्रीमा एक लाख ६५ हजार, वाचापत्र, स्टिकर, पम्प्लेट र नमुना मतपत्रमा दुई लाख ४७ हजार, मतदाता शिक्षामा ६४ हजार २८७, सवारीसाधन भाडा दुई लाख चार हजार र घरदैलोका क्रममा खाना-खाजामा लाख ५९ हजार २५३ रुपैयाँ उल्लेख छ।
यस्तै कार्यालय फर्निचरमा ५० हजार ३८२ रुपैयाँ, कार्यालय भाडा ३० हजार, मसलन्द खर्च नौ हजार ३५८ र मौज्दात २० हजार रहेको भन्दै निर्वाचन कार्यालयमा बुझाएको विवरणमा उल्लेख छ।

रास्वपाका सुनील लम्सालको खर्च विवरण।