काठमाडौँ। चालु आर्थिक वर्ष ०८२/८३ को सात महिना (साउन-माघ) मा १२ खर्ब ६१ अर्ब रेमिटेन्स भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘देशको वर्तमान वित्तीय अवस्था’ प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले बढेको हो।
गत माघमा मात्रै एक खर्ब ९८ अर्ब आठ करोड रुपैयाँ रेमिटेन्स आएको छ। गत वर्षको माघ महिनामा एक खर्ब ३७ अर्ब ५० करोड रेमिटेन्स आएको थियो।
पछिल्लो समय अमेरिका र इजरायलले इरानमा गरेको सैन्य कारबाहीको प्रभाव खाडी क्षेत्रमा देशमा पनि परेको हुँदा आगामी दिनमा रेमिटेन्समा कस्तो प्रभाव पर्ने हो भन्ने चिन्ता थपिएको छ। राष्ट्र बैंकका अनुसार नेपालमा आउने कुल रेमिटेन्समध्ये ४० देखि ४२ प्रतिशत खाडी क्षेत्रका मुलुकबाटै आउँछ।
चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या दुई लाख ४५ हजार १५३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख २७ हजार ४२४ रहेको छ।