काठमाडौँ। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नका लागि बजारबाट ३० अर्ब रुपैयाँ उठाउन लागेको छ।
नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै २८ दिनका लागि बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत उठाउन लागेको जनाएको हो।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।
बुधबार अपरान्ह अनलाईनमार्फत बोलकबोल हुने छ। यसको ब्याजदर बोलकबोलबाटै निर्धारण हुने र साँवा र ब्याज भुक्तानी यही चैत २५ गते हुने सूचनामा उल्लेख छ।
बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।
निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमशः बाँडफाँट गरिने पनि राष्ट्र बैंकले जनाएको छ।
