काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

घुसको रकमबाट भक्तपुरमा जग्गा खरिद र रिसोर्ट कर्जा भुक्तानी

१ चैत्र २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोग। तस्बिर : बिक्रम राई
अ+
अ-

काठमाडौँ। राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीमाथि घुस लिई सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

अधिकारीले एचके इन्टरप्राइजेज प्रालिबाट राजस्व चुहावट मुद्दाको छानबिन तथा अन्य कसुरबाट जोगाइदिने सहजीकरण गर्ने भन्दै कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठ ‘बिज्यु’बाट घुसस्वरूप ७० लाख रुपैयाँ लिएको अनुसन्धानमा खुलेको अख्तियारले दाबी गरेको छ।

अनुसन्धानका क्रममा उक्त रकम अधिकारीले विकास चापागाई, देवेन्द्र केसी र रवीन्द्र लामिछाने लगायतसँगको मिलेमतोमा विभिन्न बैंक तथा वित्तीय संस्थाका खातामार्फत तहीकरण गरी रकमको स्वरूप परिवर्तन गरेको अख्तियारको दाबी छ।

अख्तियारका अनुसार उक्त रकम ग्लोबल आईएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइजलगायत बैंकमा जम्मा गरी घुसको रकमलाई वैध देखाउने प्रयास गरिएको थियो।

त्यसपछि उक्त रकम प्रयोग गरी भक्तपुरको थिमी नगरपालिकास्थित (साबिक वडा १७, हाल वडा २) दिव्यश्वरी आयोजनाभित्र रहेको कित्ता नम्बर ९९८ को १६४.१४ वर्गमिटर क्षेत्रफलको जग्गा खरिद गरिएको तथा देवेन्द्र केसीसमेत सञ्चालक रहेको ‘द कुटी रिसोर्ट’को कर्जा भुक्तानीमा समेत प्रयोग गरिएको तथ्य अनुसन्धानबाट पुष्टि भएको जनाइएको छ। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।