काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२ चैत्र २०८२
अ+
अ-

काठमाडौँ । म्याग्दी–१ बाट निर्वाचित स्वतन्त्र सांसद तथा पूर्व शिक्षामन्त्री डा. महावीर पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णयको तीव्र आलोचना गरेका छन्। उनले उक्त नियुक्तिलाई “शतप्रतिशत गलत” भन्दै श्रेष्ठलाई सो पद नलिन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पुनले प्रधानमन्त्रीको प्रतिष्ठा जोगाउनका लागि पनि उक्त पद अस्वीकार गर्न श्रेष्ठलाई सुझाव दिएका हुन्। उनले लेखेका छन्, “आदर्श भाइ, प्रधानमन्त्रीज्यूको इज्जत धुलोमा नमिसियोस् भन्नाका लागि त्यो पद नलिनु। त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनु भएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाई देऊ।”

पुनले नेपालका पुराना राजनीतिक दलहरू नातावाद, चाकरीबाज र कृपावादका कारण कमजोर भएको उल्लेख गर्दै नयाँ दलहरूले पनि यस्तै अभ्यास दोहोर्‍याए भविष्यमा उनीहरू पनि समाप्त हुन सक्ने चेतावनी दिएका छन्। “यही पाराले काम गर्ने हो भने नयाँ दलहरू पनि कालान्तरमा मासिन्छन्। होसियार गर्ने म छु,” उनले लेखेका छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ अनुसार कोषको संरक्षक प्रधानमन्त्री रहने व्यवस्था छ र संरक्षकले नै अध्यक्ष मनोनयन गर्न सक्छन्। सोही कानुनी प्रावधानअनुसार प्रधानमन्त्रीले आफ्नै सचिवालयका सदस्य श्रेष्ठलाई आगामी पाँच वर्षका लागि अध्यक्षमा नियुक्त गरेकी हुन्।

यसअघि कोषका अध्यक्ष ऐनबहादुर शाहीले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो। श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेपछि राजनीतिक तथा सामाजिक वृत्तमा यस विषयमा आलोचना र बहस सुरु भएको छ। पुनले यसबारे आगामी सरकारले विवेकपूर्ण निर्णय लिनुपर्ने धारणा पनि व्यक्त गरेका छन्।